सीता अर्यालका दुई गीत

सीता अर्याल
३१ साउन २०८१ १०:३१
192
Shares

एक

जहिले पनि आँखा तर्छौ मैले बोलेपछि
तिम्रा मेरा योजनाका कुरा खोलेपछि।

के भयो त सुनाएर केलाई गोप्य राख्नु
फुल्न दिनु कोपिलालाई किन छोपि राख्नु
कहिले काहीँ त हाँसिदेउ न मैले बोलेपछि
तिम्रा मेरा योजनाका कुरा खोलेपछि।

माया प्रिति पाप होईन डराउनु हुन्न
मल्जल गरि हुर्काउनु सडाउनु हुन्न
गल्ति लागे सच्याउ बरू मैले बोलेपछि
तिम्रा मेरा योजनाका कुरा खोलेपछि।

जहिले पनि आँखा तर्छौ मैले बोलेपछि
तिम्रा मेरा योजनाका कुरा खोलेपछि।
~

दुई

गोधुलीमा आगनीमा पर्खिराख है
मुस्कुराउँदै बाटैतिर फर्किराख है

साँझबत्ति आरति सँगै गरौँला
पिरतिका फूलहरू पनि छरौँला
पराईका नयनबाट तर्किराख है
मुस्कुराउँदै बाटैतिर फर्किराख है।

कति मीठा वचनहरू लठ्ठै पार्दिने
हृदयका चोटहरू चट्टै पार्दिने
प्रेम रस मदिरा छर्किराख है
मुस्कुराउँदै बाटैतिर फर्किराख है।

गोधुलीमा आगनीमा पर्खिराख है
मुस्कुराउँदै बाटैतिर फर्किराख है।

गोरखा बजार
हाल- अमेरिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *