कविता : पराइको बगैंचामा सफलताको फूल फुलाउँदै

सुशील लामा
९ भदौ २०८१ १०:३६
80
Shares

टाढाको अन्जान देशान्तर
अजनबी मान्छेको कर्कस स्वरमा सजिएका हुकाँर
सहर्ष स्वीकार्दै
जीन्दगीको कठीन अवस्था
बालुवा बीचको बिराट बगर
आयातित माटोले छोपेर बनेका उद्यानमा
नेपाली रगतपसिना मिस्सिँदै सिँचेर
बन्दैछ विशाल बगैंचा
प्रवासी तातो हावा र सुनामी आँधी थेगेर
अनुग्रह को साथ अगाडि बढ्दै
फूलाउनु छ फूल सफलताको।

******
हातमा हथौडा सँगै मस्केको छेना
बेल्चा र गैँतीको स्पर्शले
मेटिएको भाग्यमानी भाग्य रेखा
बाटो बनाउँदै महल ठड्याउँदै छ।
एउटा क्रूर सत्य
जुन वास्तविक हो अरुको
नदेखिएको भविष्यलाई आकार दिन
बर्तमानको घोर तपस्या
संघर्षको बालुवा माथि बिछ्याइएको माटो
पिडाले छट्पटिँदै गरेको चित्र बन्दै
चित्रकार बिनाको क्यानभासमा अट्दैछु।
हरेक प्रहार सँग
भिड्नु-भिडाउँनु शंका र डरहरू सँग हातेमालो गर्दै
फुलाउँदैछु अर्को थरीको फूल
******
मरुभूमिमा च्याउँ सरी उम्रेका
आकाश छुन निस्केका भव्य र अग्लो खलिफाहरु
खलिफाको झ्याल-झ्यालमा
झुन्डिएको जिन्दगी
उता गाउँमा-
अस्तित्व गुमाएका अस्थिर चाहना बोकेकी चमेली
दामपत्य जीवन को खुशीयाली
चिर हरण गरेर
नौ डाँडाँ पारी सुइँको नदिएर सुइकिन्छन्
पत्नी बिछोडको घाउ नपुर्दै
आफ्नाको निधनमा बार्न नपाएको शोक
ब्यहोर्दै एउटा परदेशी
असभ्य ज्वारभाटा को विष्फोटन सहँदै
क्रोध र टक्कर हरुको चौबाटोमा
संघर्षको बालुवामा
एक भारी फूल फुलाउनु छ
*******
साकार बनाउनु छ,
धेरै धेरै फगत सपनाहरू
झुठो जिन्दगीको सान बढाएर
सत्य मृत्यु सम्म पुग्न
आफ्नो
सुन्दर फुलैफूलको गाउँ छोडेर
उजाड अरुको मरुभूमि सजाउन
लम्केर आएका हरुले
फुलाउनु छ।
फुल्न नमानेको फूलहरु
सुमसुम्यानु छ।
फक्रन नमानेको मञ्जरीहरु

पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लिमासोल,साईप्रस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *