दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई
ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ। सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो। सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो।
विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे। उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उक्त पुरस्कार कोशी प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, खगेनसिं हाङ्गाम, निर्मला तावालगायतले हस्तान्तरण गरे।
सगरमाथाले घरेलु टोली संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले र सलहेस युथ क्लबले विर्तामोड युनाइटेड फुटबल क्लब झापालाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारत सिलगढीको कञ्चनजंघा फुटबल क्लबसहित आठ टिम सहभागी थिए। लाखेजात्राका अवसरमा भदौ ३ गतेदेखि प्रतियोगिता शुभारम्भ भएको थियो।
हरेक वर्ष लाखेजात्राका अवसरमा आयोजना हुँँदै आएको प्रतियोगिताले खेल पर्यटनको विकाससँगै जिल्लाको पहिचान थप बलियो हुँदै गएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।







डिसी नेपाल







Facebook Comment