एन्फा महिला लिग आइतबारबाट

डिसी नेपाल
१५ भदौ २०८१ १७:०४
48
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग आइतबारबाट सुरु हुने भएको छ।

एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो। प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ। जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाका रहेका छन्।

त्यस्तै लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुने उनले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिंगल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने उनले बताए। शाहले सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुने पनि बताए।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार, उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टीमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०–५० हजार प्रदान गरिने एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानीत लागत २ करोड २४ लाख ६८ हजार रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *