दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
काठमाडौं । जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै ठूलो घोषणा गरेका छन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनले आज दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा भने , “म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन।”
केजरीवालले भने, “म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।”
आफ्नो भाषणको सुरुमा दिल्लीका सीएमले भने, “म जेलमा हुँदा हाम्रो लागि प्रार्थना गर्ने लाखौं मानिसहरूलाई धन्यवाद दिन्छु। जेलमा मैले रामायण, महाभारत र गीता पढ्ने धेरै समय पाएँ। मैले भगत सिंहको जेल डायरी पनि पढें।”
लेफ्टिनेन्ट गभर्नरलाई आरोप लगाउँदै उनले भने, “मैले एलजीलाई पत्र लेखेको थिएँ कि म जेलमा छु, मेरो ठाउँमा अतिशी जीलाई झण्डा फहराउन दिइयोस् । बदलामा फेरि चिठ्ठी नलेख्नु भनी धम्की आयो। चिठी लेखेमा परिवारसँग भेट्न दिइने छैन भनिएको थियो ।”
केन्द्र सरकारलाई आरोप लगाउँदै अरविन्द केजरीवालले आफूलाई जेल पठाउनुको उद्देश्य आम आदमी पार्टीलाई भत्काउने र अरविन्द केजरीवाललाई तर्साउने भएको बताए । तर जेलका दिनहरूले आफ्नो साहस बढाएको उनले बताए ।
उनले भने, “देशको लोकतन्त्र बलियो बनाउन खोजेकोले मैले जेलबाट राजीनामा नदिएको हो, जेलबाट पनि सरकार चलाउन सकिन्छ भन्ने प्रमाणित गरेको छु।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment