त्रिपाल मुनि रात वित्छ पहिरोबाट विस्थापितको

डिसी नेपाल
२७ साउन २०७६ २१:४७

फिदिम । चौरासी वर्षीय नरबहादुर राई राम्रोसँग देख्न र सुन्न सक्दैनन्। असार १० गते राति उनले अकस्मात जमिन हल्लिएको थाहा पाए। छोरा–बुहारीले राईलाई बाहिर निकालेर घरमाथिको डाँडोमा पुर्याए। राई परिवार डेढ महीनादेखि त्यही डाँडोमा त्रिपालमुनि बस्दै आएको छ ।

बुहारी जसमाया ससुरा नरबहादुर बिरामी परिरहने भएकाले त्रिपालमुनिको दैनिकी कष्टकर भएको बताउँछिन्। “जङ्गलको बीचमा बस्नुपरेको छ, घर फर्किने अवस्था छैन”, उनले भनिन्। चारैतर्फबाट घरलाई पहिरोले घेरेकाले घर फर्किन नसकिने जसमाया बताउँछिन्। नरबहादुर पत्थरी र मधुमेहका रोगी छन्। “रोगी छु, त्यहीमाथि चिसोमा कष्टकर जीवन बिताउनुपरेको छ”, उनले भने, “सरकारले हाम्रो व्यवस्था गरिदेओस् ।”

राई परिवारले जस्तै पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र सेपी बस्तीका १७ परिवार अहिले कष्टकर दैनिकी बिताउन बाध्य छन् । उनीहरु पहिरोका कारण विस्थापित भएका हुन् । ती सबै परिवार जङ्गलको बीचमा त्रिपालमुनि बस्दै आएका छन् । उक्त बस्तीमा जताततै पहिरो गएपछि स्थानीयवासीले घर छाडेका हुन् । विस्थापित चन्द्रबहादुर राई बारी र अलैँची बगान पहिरोले बगाएपछि चिन्तित छन्। ्

विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन्। “अन्यत्र लैजान सकिँदैन, यहाँ झन समस्या आउछ । हिउँदमा बस्न सकिन्न”, उनले भने। यहाँका बालबालिकालाई अध्ययन गर्न समस्या भएको छ । उनीहरु हाल नारायणी माध्यमिक विद्यालय बेतेनीमा पढ्दैछन् । चिङ्मास्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदान पहिरोले पुरेको छ । बालबालिकालाई विद्यालय पठाउन समस्या हुने गरेको विस्थापित धनमाया राईको भनाइ छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले विस्थापितलाई एकीकृत बस्ती निर्माण गरी पुनःस्थापना गर्ने योजना रहेको बताए। वडा नं १ का अध्यक्ष मोहनकुमार ढुङ्गेलको संयोजकत्वमा तीन सदस्सीय जग्गा खोजी समिति गठन गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *