कविता : ममताको संसार
सिन्दुरको धर्को कोरेका हातले
रगतको पोखरी जमाएको दिन
विश्वास र समर्पणको अचानोमा
जीवन छिया छिया पारेको छिन्
त्यो सुकुमारी फूल
कसरी किचिमिची भयो होला
आफ्नै मालीले जरो काटेको दिन
कति छटपटायो, चिच्यायो होला
बिन्ती भाउ गर्दै रोयो होला
सन्तानको मायाले रोक्यो होला
बावु आमा सम्झी मुटु घोच्यो होला
ॲाँखाबाट सपनाहरु खस्दा
मानव भित्र लुकेको दानव देख्दा
सहयात्राका हातहरु छुरा बनेर
तेरो जीवन मेरो हातमा छ भन्दा
‘मेरो राजा’ जिस्किए भन्यौ होली
प्रेमले पग्लिएर बाहुपाशमा पर्याै होली
मायाको खोलले धोकालाइ छोपेको
कल्पनासम्म कहाँ गरेकी थियौ होली र?
काखैमा राखी छुरी रोपेको!
जून तारा हेरी टोलाइ रहे
चराचुरुगीले बोलाइ रहे
धरती र आकाश नि:शब्द भए
ॲाँशुका नदी बगी नै रहे
कुन माटोमा लुकायो होला
कुन पानीमा बगायो होला
रगतको पोखरीमा पौडी खेलेर
अमृतको धाराले नुहाउन खोज्ने मान्छे
मनमा बिषको घडा भरेर
आफ्नो बचाउको कथा सुनाउने मान्छे
माया र ममताको संसार लुटेर
आफ्नो सपना सजाउन सक्दैनौं
दुखाइसँग दुख्नुको अनुनय छैन अब
विश्वासघातसँग विश्वासको अभिनय हुँदैन अब
उनको सातफेरो अग्निको कसम
उनको रगत जस्तै रातो सिँदुरको कसम
उनले गरेको विश्वास र समर्पणको कसम
तिम्रो मन ग्लानीको अग्निले पोली रहोस्
तिम्रो धमनीमा पीडाको ॲाँशु बही रहोस्
आजीवन उनैको छटपटीले डसी रहोस्
सजायको फन्दाले घाँटी कसी रहोस्
No ads found for this position


Facebook Comment