१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

डिसी नेपाल
१४ असोज २०८१ २२:२६
104
Shares

गलकोट। बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेस गरिएको छ।

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो। नेपालीलाई काठमाडौंबाट आइतबार बागलुङ ल्याइएको हो। उनलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिए।

चिलवालका अनुसार उनलाई आज जिल्ला अदालत बागलुङ पेस गरिएको छ। नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो। नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए। देवकुमार बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउने आशा गरेका छन्। नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *