कविता : पुरानो कविता
कविताको थाकहरु बाट
फुत्त ताने एउटा कविता
नियालेर हेरें
त्यो कविता जस्तो लागेन
आफैंले लेखेको पुरानो कविता
त्यो
बृद्ध बृद्धाहरुको
सुस्केरा थिएन
बृद्धाश्रमहरुको
त्यो
अनाथ बालबालिकाहरुको
पीडा थिएन
अनाथालयहरुको
त्यो
नारकीय जीवन विताइरहेका चेलीहरुको
रोदन थिएन
बेश्यालयहरुको
त्यो
दासत्वमा पिल्सिएका महिलाहरुको
क्रन्दन थिएन
क्रुर इतिहासहरुको
अट्टहास गर्ने
साहूको निर्दयता माथि
लेख्नै सकिएन कविता
अनिकालले ग्रसित
भोका पेटहरुको
लेख्नै सकिएन कविता
सिरेटोले थप्पड हानिरहेको
नांगा आङहरुको
लेख्नै सकिएन कविता
युद्धमा आफ्ना नानीहरु
गुमाएका आमाहरुको
लेख्नै सकिएन कविता
यस्ता अनेकन विषयहरु छन
कविता लेख्नका लागि
किन लेख्न सकिएन
ती विषयहरु माथि कविता ?
के कवि काँतर भएको हो ?
लैङ्गिक असमानता विरुद्ध
कविता लेख्न
श्वेत, अश्वेत विचका असमानता विरुद्ध
कविता लेख्न
जातीय विभेदका विरुद्ध
कविता लेख्न
धार्मिक अतिवादका विरुद्ध
कविता लेख्न
दलित र गैर दलित बिचका असमानता विरुद्ध
कविता लेख्न
सुकुम्बासी र धनाढ्य बिचका असमानता विरुद्ध
कविता लेख्न
थाहा छैन
कस्तो कविता लेख्नु पर्छ कविले ?
किन मन परेन
मलाई मेरै पुरानो कविता ?
बिचार बिहीन
आवाज बिहीन
कस्तो हुन्छ कविता ?
मेरो आफ्नै पुरानो कविता
दृष्टिकोण बिहीन थियो
सिद्धान्त बिहीन थियो
थियो फगत त्यो
पागल प्रेमीहरुको कविता ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ
No ads found for this position
प्रतिक्रिया


Facebook Comment