‘साफ महिला च्याम्पियनसिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेका छौं’
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेको जनाएको छ।
च्याम्पियनशिपको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपको तयारी निकै राम्रो भएको र उपाधी हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए।
उनले महिला टीमले यसअघि गरेको कमजोरीलाई सुधार गर्दै तयारी गरेको जिकिर गरे। च्याम्पियनसिपको तयारीका लागि कम समय भएपनि खेलका लागी नेपालको टीम पूर्ण रुपमा तयारी अवस्थामा रहेको उनको भनाइ छ।
त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले टीमले कडा मेहनत गरेको र च्याम्पियनसिपको उपाधी रक्षा गर्ने गरि खेल्ने बताइन्।
त्यस्तै अन्य देशका कप्तान तथा प्रशिक्षकहरुले पनि च्याम्पियनसिपको तयारी राम्रो भएको र नजिता आफ्नो पक्षमा आउने गरि खेल्ने बताएका थिए।
बिहीबार कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment