नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
काठमाडौं। नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ। नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ।
तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश हुने बताइएको छ।
यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए।
यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए। बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए।
नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए।
यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment