माल्दिभ्सविरुद्ध नेपालको गोलको वर्षा

डिसी नेपाल
५ कार्तिक २०८१ १९:२९
352
Shares

काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन्। यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे।

जितसँगै चार अंक बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो।

समान चार अंक नै बटुलेको भुटान अंक तालिकाको दोस्रो स्थानमा छ। अब भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। यसै खेलले समूहका विजेताको टुंगो लाग्नेछ। उक्त खेल यही कात्तिक ८ गते हुनेछ।

आज खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो। त्यसपछि खेलको २९ औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन्।  खेलको ३२ औँ मिनेटमा रेखाले नेपाललाई ३–० गोलको अग्रता बनाइन। खेलको ४२ औँ मिनेटमा रेखाले अर्को गोल थपिन्।

यसैगरी खेलको दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ६३ औँ मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन्। लगत्तै प्रितीले नेपालको लागि सातौँ गोल थपिन्।

नेपालले त्यसपछि तीन खेलाडीलाई परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो। अनिता केसीले मैदान छिरेको पहिलो ‘टच’ मै नेपालको लागि आठौँ गोल गरिन्।

खेलको ७८ औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौँ गोल गरिन्। यसैगरी खेलको ८६ औँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो। प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०–० को अग्रता दिलाइन्। त्यसको एक मिनेट पनि बित्न नपाउँदै अमिषा कार्कीले अर्को गोल गरिन्।

साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ः३० बजे हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *