कविता : राई माइला

प्रकाशचन्द्र खतिवडा
२४ कार्तिक २०८१ ७:१३
172
Shares


राई माइला
गाउँका धुकधुकी हुन्
माइली रइनीका
आशा र भरोसा हुन्
तायाङ्मा र मिशाम हाङ्गका
आँखाका नानी हुन
जिउँदाको जन्ती

मर्दाको मलामी हुन्।
साकेला नाच्नु
उनको कला हो
बाँसुरी फुक्नु
उनको गला हो
फुपा मुमाहरुको
गथासो पनि सुन्नै पर्ने
असारे गीत पनि गाउनै पर्ने
खेत, खलियानमा
पाखुरा पनि साट्नै पर्ने
पित्रमा रमाउने पनि राई माइला
मुर्चुङ्गा र विनायो बजाउँदै
छम छमी नाच्ने पनि राई माइला
गाँउलेको दुःख पीडामा
आड भरोसा दिने पनि राई माइला
राई माइला
तिमी गाउँको मियो हौ ।
राई माइला
वृद्धहरुका सहारा हुन्
टेक्ने लौरोहरुमा
अपाङ्गहरुका भरोसा हुन्
बैशाखीहरुमा
सिङ्गै गाउँ पीडामा डुब्दा पनि
धैर्यता गर्न सक्ने
खम्बा हुन राई माइला ।


राई माइला
दुःखका कथा हुन
चीसो सिरेटोको थप्पड सहदै
नाङ्गो आङ लिएर हिड्नु पर्ने
पेट भित्र सारङ्गी बजाउँदै
भोको पेट लिएर सुत्नु पर्ने
विवश छन्
राई माइला
गोर्खा भर्ती जानु पर्ने
आमा, बुबा
माइली रइनी र छोराछोरीहरुको
अधुरो सपना पूरा गर्न ।
जिम्दारहरुको
ऋण चुक्त्याउँन नसक्दा
बसाइ जानु पर्ने
विदेशिनु पर्ने
यीनै राई माइला ।


राई माइला
तिमीले गाउँ छोड्यौ भने
गाउँ शून्य हुने छ
गाउँलेहरु बेखबर हुने छन्
तन्नेरीहरुले
बाटो विराउने छन्
वृद्ध वृद्धाहरु
सहारा विहीन हुने छन

केटाकेटीहरु
टुहुरा हुने छन् ।


सारा गाउँको मियो
राई माइला
परिवर्तन

क्रान्तिका लागि
गाउँ छोड्ने
टुङ्गोमा पुग्छन्

एक दिन
उनले पत्तै नदिई
भालेको डाक संगै
मिर्मिरे उज्यालोमा
गाउँ छोडि दिन्छन् ।


राई माइलाले
गाउँ छोडेको
यकिन भए पछि
गाउँलेहरु त्रशित हुन्छन्

भयभीत मुद्रामा
प्रार्थना गर्छन्
राई माइला
चाँडै फर्की आउ है
एक मुठी
उज्यालो लिएर
आफ्नै गाउँमा ।
सुन्दरहरैंचा–६,दुलारी, मारङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *