कविता : शोक धुनहरु

प्रकाशचन्द्र खतिवडा
२२ मंसिर २०८१ ७:१०
308
Shares

साथ दिने कोही नभए पछि
म एकल यात्रामा निस्किएको छु
के यात्रा एकल हुन सक्छ?
मनको पहिरो खस्नु अगावै
बाटो हेरी टोलाई बस्ने
जीवन सहेली नैनकला
धरधरी रुन्छे किन?
यात्रामा निस्कने पक्का भए पछि
अलिकति हाँस्नु पर्थ्यो
किन रोयौ नैनकला?
म सोचमग्न हुन्छु
सोचेरै थालिएको यात्रा त हो
रोएर मन नदुखाउ
यात्रा एकल पनि हुन सक्छ।

यात्रालाई विदाइ गर्ने
सगुनका घडाहरु छैनन्
अविर र टीकाहरु छैनन्
हात हल्लाउने कोही नभए पछि
फूलका मालाहरु छैनन्
शुभ साइतका बाजा बजाउनेहरु छैनन्
आउ अंकमाल गरौं
धित मरुन्जेल रुनु पर्ला
धित मरुन्जेल हाँस्नु पर्ला
एक दिन मर्नु नै छ
मर्न किन डराउने?
असह्य वेदना बोकेर
पीडा खप्नै नसके पछि
दुःख सुख साटासाट गरौंला
एकै साथ माया प्रीति गाँसेकै हो
बाँच्न कोशिस गरिएकै छ
मर्नु परे एकै साथ मरांैला
जिन्दगी जिउने कसरी?
मरेर पनि बाँच्नु पर्ला
मुटुमा अलिकति माया साँच्नु पर्ला
यो मन रोइरहन्छ किन?
रोएरै मुक्ति मिल्ने भए
रुनु हुन्थ्यो हजारौँ जुनी
तिम्रो मन दुखेकै भए
मलहम पट्टी लगाउँदै
मनलाई सफेद बनाऔंला
आउ प्रिये नैनकला
यदि सम्भव हुन्छ भने
तन पनि साट्ने काम गरौंला
यात्रा रहेछ जिन्दगी
नदी जस्तै बगी रहन्छ
समुद्रमा समाहित हुने गरी।

गन्तव्यमा पुगिएला वा नपुगिएला?
फेरि भेट भइएला वा नभइएला?
आउ! धित मरुन्जेल बात मारी बसौं
आउ ! रहर पुगुन्जेल जीवनका गीत गाइ बसौं
अवरोधका तगाराहरु भाँच्नै छ
पदमार्गका काँडाहरु छाँस्नै छ
यात्रा त सुरु भै नै सक्यो
उकाली, ओराली नाँघ्नै छ
खोला, खोल्सा र खहरे तर्नै छ
बुट्यान र काडाँहरुले अवरोध गर्लान्
तिनीहरुलाई फाँड्दै जानु छ।

फर्क, नैनकला
तिमीले घर व्यवहार हेर्नुृ छ
डाँडाकी जून जस्ती आमा
आमाको रेखदेख गर्नु छ
बुने बाटो हेरी बसेकी होली
उसको सपना पूरा गर्नै छ
रोएर कसरी चल्छ जिन्दगी?
हरेश खाने कुरै नगर
तिमीले आजबाटै नयाँ यात्रा थाल्नु छ।

बुख्याचा जस्ता मान्छेहरु
मेरै रिस र डाह गर्छन्
तिनीहरु मलाई नै नियाली रहेछन्
एकोहोरो क्वार क्वार्ती
नबुझिने शब्दहरु बर्बराउँदै
यात्रा आरम्भ देखि नै
मेरो यात्रा विथोल्न ।

तिनीहरु कठपुतली जस्ता देखिन्छन्
तिनीहरु बाटै
मेरो यात्रामा अवरोध भएको छ
म यात्राबाट फर्काइएको छु
लुखुर, लुखुर
थकित मुद्रामा।

मैले यात्राको
अर्कै बाटो रोज्नु छ
गन्तव्यहीन हुने किन?
मैले नयाँ गन्तव्य खोज्नु छ
विहानी अगावै
यात्राराम्भ गर्नु पर्ने
म माथि हात पात गरिएको छ
युद्ध बन्दी हैन म
मलाई युद्ध हारेको
सिपाही जस्तै बनाइएको छ
निहत्था!
फेरि पनि
मेरो भन्ने वस्तु केही छैन
जसरी
शरणार्थी शिविरमा हुन्छ ।

जति गुम्नु पर्ने हो
तो सबै गुमाइ सक्दा पनि
तिनीहरुको दानवीय रुप
निर्लज्ज बनेर सताउने गर्छ
तिनीहरु मेरो दुःखमा
अट्टहास गर्छन्
पौठेजोरी खेल्नु पर्ने हो मैले
सकिएन पौठेजोरी खेल्न पनि
उनीहरु हतियारले सुसज्जित छन
म जुन सुकै बेला मारिन सक्छु
म निशश्त्र भएकै कारण
पीडाले थिल थिलो बनाइएको हुन्छु।

अलिकति बाँकी रहेको हिमाल पनि
बेमौसमले नाङ्गिएको छ
उदास/उदास।

ठिक, त्यसरी नै
म नङ्ग्याइएको छु
नर कङ्काल जस्तै ठिङ्गग
टकरक/टकरक।

मैले शोक धुनहरु बजाउँनै पर्छ
गुराँस रोइ रहेको बेला
मैले पुलिन्दाहरु बोक्नै पर्छ
देशको मान चित्र केरमेट भइरहेको बेला।

म अभिशप्त जिन्दगी घिसार्दै
यात्रा गरिरहेको हुन्छु
जबर्जस्ती
तिनीहरु मलाई
बुठ् चटाइ रहेका हुन्छन्
म रोटी खोजिरहेको हुन्छु
तिनीहरु गोली पड्काइ रहेका हुन्छन्।

मेरै छातीमा घोडाका टाप बजारेर
तिनीहरु कथित राष्ट्रिय गान
गाइ रहेका हुन्छन्
म शोक धुनहरु बजाइ रहेको हुन्छु ।

म देश खोजि रहेको हुन्छु
हराइ रहेको मान चित्र भित्र
म आफै हराइ रहेकै छु
आफ्नै भूगोल भित्र
देश दुखेर आउँछ
देशलाई कसरी माया गरुँ?
ओ प्रिय शहीदहरु!
न त मेरो आफ्नो बस्ति नै छ
न त मेरो आफ्नो पहिचान नै
हुलिया समेत हराएको छ
हुलिया विहीन छु म
थाहा छैन
यात्रा कसरी टुङ्गिने हो?
यो शरणार्थी शिविरमा ।

मैले मेरो नाउँ खोज्न
चिहानहरु कोट्याउनु पर्ने हुन्छ
म देशको सीमा रेखा कोर्दै
दगुरी रहेको हुन्छु
तिनीहरु मलाई
कोर्रा हानिरहेका हुन्छन्
मेरै पसिनाको आहालमा
तिनीहरु कथित श्रमगीतहरु
गाइ रहेका हुन्छन,
म शोक धुनहरु बजाइ रहेको हुन्छु ।

म थकित बनाइएको छु
अनपेक्षित यात्रा बाट
मैले नियात्रा लेख्नु छ
नियात्रा लेखौ कसरी ?
खोशिएका छन मेरा कलमहरु
लुटिएका छन मेरा कागजहरु
यात्राले थकित छु म
भारी विसाउने चौतारी छैन
सुस्त,सुस्त सुस्ताउने दौतरी छैन
यो भयावह परिवेशमा
मेरा सपनाहरु
विश्रृङखलित हुन्छन्
प्रताडना खप्नै नसकि
म रोइ रहेको हुन्छु।

मान्छेका चिहानहरु असरल्ल छन
ज्ञात अज्ञात शहीदहरु होलान्
आफन्तहरुको विलाप
आँसु बनेर बर्षिएको छ
कसैको सिन्दुर पुछिएको छ
कसैको काख रित्तिएको छ
तिनीहरुको अबको यात्रा
विश्मयकारी बनेको छ।

चिहान माथि राता झण्डाहरु छन
हातले नै सलामी अर्पण गर्दै
मलामीहरुले मौन धारण गरेको बेला
म शिरमा कालो पट्टी बाँधेर
शोक धुनहरु बजाउन
हातमा बाँसुरी लिन्छु
तिनीहरु बाँसुरी खोस्न खोज्छन
म प्रतिवाद गर्छु
र हृदय विदारक आवाजमा निरन्तर
म शोक धुनहरु बजाइ रहेको हुन्छु ।

सुन्दरहरैंचा-६ दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *