नियात्रा

विद्याको बान्कीमा बोस्टन

डिसी नेपाल
१३ पुष २०८१ ७:११
116
Shares

मेरा मनका उभारहरू घुम्नका लागि बतासे तरिकाले रौसिन्छन्। मान्छे अन्तरिक्षमा गयो भनेको सुन्दा पनि मनभित्र औडाहा हुन्छ। सँगसँगै दगुर्न खोज्छ। मेरा कलिला दिनमा अमेरिकाको बोस्टन अन्तरिक्ष जस्तै अभेद्य थियो। त्यसो त बोस्टन सहरको नाम मैले कहिले सुने, त्यो मलाई सम्झना छैन।

तर थाहा पाउँदा विद्याको सगरका रूपमा सुनेँ। विद्याको सागरका रूपमा बुझेँ। इतिहास पढ्दा अमेरिकी स्वतन्त्रताको जेहाद छेड्ने बोस्टन टी पार्टी सुनेँ। पढेँ। पढाएँ। पछिल्ला चरणमा बोस्टनलाई हार्वड विश्वविद्यालय बोक्ने सहरका रूपमा सुनेँ। जे सुने त्यो स्वप्नलोक जस्तै सुने। पुग्ने न तारतम्य थियो, न हुति थियो न प्रयत्न नै।

तर जिन्दगीमा आफूले सोचेझै मात्र कहाँ हुन्छ र ? अमेरिका तथा बोस्टन मेरा लागि यही छप्पर फाड्के संयोग थियो। समयले मलाई छोरीज्वाइँको सिँयालमा बुढारी व्यतीत गर्न अमेरिका छिरायो।

सन २०२१ को जुन महिना। म पारिवारिक भेटघाटको सिलसिलामा भदाहासालो सुमेश भट्टराईको घर न्युयोर्क पुगेको छु। बुहारी विवेकाले पनि बोस्टनमै पढेकाले मलाई भनेकी छिन्-भिनाजु ! बोस्टन भनेको विद्यार्थीको सहर हो। विद्याको सहर हो। झन् हजुरले त यो सहर जानै पर्छ।

यसो भएपछि बोस्टन घुमाइको उत्सुकता झन् तिब्र भएको छ मेरो। किनभने मैले आफ्नो उर्वर काल विद्यार्थी, शिक्षक तथा प्राध्यापक भएर कक्षा कोठाकै आसपासमा विताएँ। अहिले अवकासे जिन्दगीमा फेरि जेतेमेते नै भए पनि पढ्दै छु। झारा टराइ पढेको भए पनि विद्याको केन्द्र भन्नेबित्तिकै मनोवैज्ञानिक रूपले म लोभिन्छु।

त्यसैले बोस्टन घुमाइको योजना मिलाएर ५ जुनका दिन हामी याने कि म, मेरी सुशा, सुमेश, विवेका र दुई केटाकेटी सान्वी र युभान गरी ६ जना बोस्टन पुगेका छौँ। घुमघामको केन्द्रीय प्रयोजन विद्या तथा पानीको सागर बोस्टनको सुन्दरताको दृश्यपान गर्नु नै हो।

टोल रोडमा हाम्रो गाडी बेतोडले बतासिएको छ। पुग्दापुग्दै म देख्दै छु कि बोस्टन सहर जङ्गलभित्र छ। भन्नुको तात्पर्य काठमाडौँको जस्तो कङ्क्रिटको मात्र जङ्गल होइन। कङ्क्रिट र जङ्गल सरोबरी छन्। रुखबिरुवा र भवन छ्यासमिस छन्।

मैले देखेको भोगेको म जन्मिएको मेरो चुरेपहाडमा रहेको चारकोसे झाडीभित्र सहरजस्तो लागेको छ बोस्टन मलाई। जाँदाजाँदै हाम्रो गाडी सुरुङभित्र पसेको छ। एउटा सुरुङबाट निस्कँदै फेरि अर्को सुरुङमा पस्दै छ। मेरो पहिलो आश्चर्य सुरुङैसुरुङले प्वालैप्वाल छिद्रा पारेको बोस्टन सहर नै भएको छ।

यो देखेर अरू सहयात्रीलाई के भयो कुन्नि ? म आफू भने रोमाञ्चक बनेको छु। मेरो जिज्ञाशालाई शान्त पार्दै सारथी सुमेशले भनेका छन्-भिनाजु, यो बोस्टन सहरमा त समुद्रमुनि सुरुङ छ। सहरमुनि सुरुङ छ।

हामी जाँदै छौँ। भुईँ सडकको बीचमा भएको ढलको जस्तो देखिने फलामका ढक्कनले छोपेको प्वालबाट धुवाँ निस्किरहेको छ। मैले सुमेशलाई सोधेँ — यो सडकबाट धुवाँ किन आइरहेको ?

सुमेशले उत्तर दिएका छन्- त्यो भूमिगत रेल तथा हिटिङ कुलिङ सिस्टमबाट धुवाँ निस्किरहेको हो भिनाजु।

म हेर्दै छु। याने अनुभूत गर्दै छु। भुईँमाथि सहर छ। सहर मुनि सुरुङ छ। सुरुङमा रेल, बस तथा गाडी गुडिरहेका छन्। सडकमाथि उक्लिएका तलैतला भएका पुलका माथिमाथि कुदिरहेका गाडी आकाशमा गुडेझैँ लागिरहेका छन्। समुद्रमाथि पनि सहर छ। सहरमाथि पनि सहर छ। सहर र सगर एकै जस्ता लागेका छन् मलाई।

सहर सगरतिर उकासिएको छ। सागर र सहर पनि एकै जस्तो अनुभूत भएको छ। समुद्रका भँगालाहरू याने कि हार्वर बोस्टन सहरभित्र पसेका छन्। चाल्र्स नदी पनि सहरभित्रबाट समुद्रको लयमा लय मिसाउँदै छ। ती भँगाला तथा नदीमा सानाठूला नाउहरू छन्। ती नाउ यात्रा गर्न तथा मनोरञ्जनका लागि हुन्। मलाई लागिरहेको छ कि सबै रमाइलो कुँडुलो परेर यहीँ बोस्टनमा खाँदिएको छ।

जुन ५ तारिक। हामी होटलको आठौँ तलामा बसेका छौँ। होटलको झ्यालबाट बोस्टन सहरका भीमकाय भवनहरू बिजुलीको टहकमा चम्किरहेका छन्। काठमाडौँको लक्ष्मी पूजाको रमझम जस्तै झिलिमिली छ।

६ तारिकको दिन बिहानै उठेको छु। झ्यालबाट हेरेको छु। होटलकै छेउबाट खोला कलकल गरी सङ्लो बगेको देखिएको छ। खोलाको वारिपारि मान्छे हिँड्ने ट्रेल छ।

होटलबाट एक्लै निस्केर सोही चाल्र्स रिभरको किनारमा बनाइएको दोहोरो पैदलयात्रु सडकबाट हिँड्दै छु। ट्रेलका छेउमा याने समुद्रको भँगालाको किनारमा पार्क छ। पार्कका छेउमा गाडी सडक छन्। सुन्दर र सफा छ। समुद्र, पार्क तथा अग्ला भीमकाय भवनहरू एकै पल्ट देखिन्छन्।

बिहानको याम छ। सूर्य उदाएर एक बाँसमाथि आइसकेको छ। म सोही ट्रेलबाट हिँडिरहेको छु। मनग्गे मान्छे मर्निङ वाक गरिरहेका छन्। बृद्धबृद्धा तथा वयस्क, केटाकेटी तथा युवायुवती पनि विविध पहिरनमा हिँडिरहेका छन्। दगुरिरहेका छन्।

ती मध्ये सायद यस्तै ३० वा ३५ की देखिने युवतीको पहिरनमा मेरो नेपाली परम्परागत आदर्शवादी कपटी र तिखो नजर पुग्यो। जाली कपडाले बनेको उसको पहिरनबाट भित्री श्वेतसौन्दर्य बाहिर नियाल्दै छ। तर पनि उनलाई ट्वाल्ल परेर हेर्ने कुनै नजर छैनन् यहाँ। यो दृश्यबाट मुख मिठ्याउने कुनै मुख छैनन्।

अनावश्यक र्याल काढ्ने कुनै जिब्रा छैनन्। यो एउटा सामान्य प्रकृया हो। पहिरन उसको व्यक्तिगत स्वतन्त्रता हो। यो पहिरनवाला दृश्य यदि नेपालमा देखिएको भए अग्रगम्यता पस्कने मिडियाले मरमसला भरेर पक्वान्न बनाउने थिए र बेच्ने थिए।

ठूलो अपराध गरेझैँ वा हौवा बनाएर डङ्का पिट्ने थिए। आदर्शवादी ठानिने बुज्रुग मुख बिगार्ने थिए। समाज पूरापूर बिग्रिएको निष्कर्ष निकाल्ने थिए। समाज छँडुल्लो बन्दै गएकोमा चिन्ता पनि गर्दथे। र फेरि अलि ओल्टोकोल्टो पर्नेबित्तिकै त्यही अर्धनग्न तस्बिर हेर्दै मुख मिठ्याउँदै हुन्थे।

म लगातार हिँडि नै रहेको छु। घामका ताता पाइलाहरूले मलाई असिनपसिन बनाएका छन्। यत्तिकैमा देखेँ कि पार्ककै बेन्चमा एक जना मान्छे निर्मग्न सुतिरहेको छ। उसलाई घामका रापको पनि केही मेलोमेसो छैन। केही पर्बाह छैन। मैले उसलाई गौर गरेर हेरेँ। उसलाई कहीँ पुग्नु पनि छैन। जीवनका लडाइँमा त्यही पार्कको बेन्च नै काफी छ।

अमेरिकामा त कुनै मान्छे चाहे त्यो युवा होस् वा युवती कसैले कसैलाई व्यक्तिगत स्वतन्त्रतामा आँच आउने गरी ट्वाल्ल परेर हेर्न नपाइने कुरा मलाई थाहा छ। तर पनि म भने उसलाई परबाट हेरि नै रहेको छु । अलिकति दयाले हेरेको छु। अलिकति आश्चर्यले हेरेको छु।

ऊ मस्त सुतेको छ। अनुहारमा परेका घामका टहकलाई एउटा तौलियाले छोपेको छ। उसको निजी ब्याग तथा स्लिपिङ ब्याग बेन्चमै राखेको छ। एडिडासको जुत्ता तथा मोजा लगाएको थियो। हेर्दा ऊ सुटेडबुटेड नै देखिन्थ्यो। तर अलि मैलो थियो। सामान्यभन्दा मैलो छ ऊ। खासमा यो मान्छे माग्ने हो। होमलेस हो।

यही पार्कमा सुत्थ्यो। ओत लाग्थ्यो। घुम्थ्यो। र मागेर खायो। सायद उसको कुनै निजी परिवार छैन। भए पनि ऊसँग छैन। या त ऊ आफ्नो स्वतन्त्रताका लागि घरबारका बन्धन र अर्घेलीहरूलाई तिलाञ्जली दिएर फुक्काफाल भएको पनि हुनसक्छ। अमेरिकामा जागिरको ओइरो छ, तर ऊ जागिर खाने झन्झट गर्न चाहँदैन सायद। उसलाई यही पार्ककै बेन्च स्वर्ग छ। न हरहर न कचकच। एक जुनी बिताउने त हो।

म मर्निङ वाक सकेर फेरि होटलमा पुगेको छु। टोलीका सबै सदस्य तयार भइसकेका रहेछन्। होटलमै चियाचमेनापछि बाहिर निस्कियौँ। हामीले त्यही समुद्रकै किनारमा रहेका विविध गन्तव्यतिर पाइला तेस्र्याउन थाल्यौँ। समुद्रमा गएर ह्वेल वाचिङ गरेर होटेलतिर फर्केका छौँ।

जुन महिनाको ७ तारिक। गन्तव्य बोस्टनका विश्वविद्यालयहरूको प्राङ्गणमा पुग्नु र तस्बिर खिच्नु रहेको छ। किनभने यति बेलासम्म मैले बोस्टन विद्याको सगर हो भन्ने ठम्याइसकेको छु। यो घुमाइमा मेरो अलिकति कुण्ठा पनि छ सायद। मलाई आफ्ना जीवनका हिँडाइका क्रममा एमएका लागि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर पनि जुरेको थिएन।

मारवाडीका व्यापारिक फर्ममा काम गर्दागर्दै रहरले प्राइभेट रूपमा एमए दिएको थिएँ। पास पनि भएको थिएँ। र त्यही प्राइभेट एमए मेरो सकल जीवनभरि अन्नपानीको दाता भएर त्रिविमा देखा पर्यो। पढ्नका लागि विश्वविद्यालय त पुर्पुरोमा थिएन।

तर विश्वविद्यालयकै दानापानीले मेरो जुनी बितिरहेको यथार्थ मलाई ज्ञात छ। त्यसैले आफूले पढ्न नपाए पनि अमेरिका त्यसमाथि बोस्टनका विश्वविद्यालयका आँगनमा उभिएर तस्बिर खिचेर क्षुधा निमिट्यान्न पार्नु पनि महत्त्वको विषय हो मेरा लागि। गौरवको आत्मानुभूति हो मेरा लागि।

हिँड्दै गर्दा हामी सबैभन्दा पहिले बोस्टनमा रहेको मासाच्युसे इन्स्टिच्युट अफ टेक्नोलजी याने कि एमआइटीप्राङ्गणमा पुग्यौँ। चाल्र्स नदीको किनारमा झण्डै डेढ कीमी क्षेत्रफलमा फैलिएको सो सहरी मोडलको विश्वविद्यालयको मूल भवनको गेटमा पुरानो साइन बोर्ड फोटो खिच्यौँ।

त्यही प्राङ्गणमा उभिएर सुमेशले भने-भिनाजु, यो विश्वविद्यालयमा भर्ना गर्न कैयौँ प्रयास गरेँ। तर यो जुनीमा सकिएन। अब अर्को जुनीमा बल गर्नु पर्ला।

म हाँसेँ र सुमेशको अनुहारमा हेरेँ। मैले यहाँ सुमेशका बारेमा केही भन्नै पर्ने हुन्छ। असाध्य धेरै पढ्ने हुनाले आफन्तले उनको उपनाम नै विद्यासागर राखेका थिए। गाउँको सरकारी स्कुलबाट उभिएर नितान्त आफ्नै बर्कतबाट जापान तथा अमेरिकामा पढेर इन्जिनियर हुनु भनेको कुरा उनको परिवेशीय अवस्थामा चानचुने कुरा थिएन। वास्तवमा उनी आफन्तका बिचमा विद्याकै सागर थिए। विद्याकै सगर थिए।

एमआईटीको मूल भवनको भित्तामा ‘स्थापित १८६१’ लेखिएको थियो। त्यो बेला स्थापना हुँदा यो इन्स्टिच्युटको प्रमुख उद्देश्य अमेरिकामा औधोगिकीकरण गर्नु थियो। त्यस कारण यो पोलिटेक्निक विश्वविद्यालयका रूपमा स्थापना गरिएको थियो।

ल्याबोरेटोरीमा आधारित शिक्षाका कारणले गर्दा अहिले पनि यो संस्था संसारभरिका इन्जनियरिङका लागि प्रख्यात छ। बोस्टनको क्याम्ब्रिज भन्ने ठाउँमा अवस्थित यो इन्स्टिच्युटले संसारभरि विज्ञान तथा प्रविधिमा खेलेको भूमिका संसारकै एक नम्बरको प्रज्ञापुञ्ज नै मानिन्छ।

दोस्रो विश्वयुद्धका बेला यही एमआईटीले मिलिटरी साइन्सको अध्यापन तथा प्रशिक्षण दिएको थियो। यो न्युक्लियर साइन्सको अध्यापन गराउने केन्द्र हो। नानो इन्जिनियरिङका लागि पनि प्रसिद्ध छ। त्यसैले यो विद्याको सगर हो।

भनिन्छ कि संसारभरि जहाँजहाँ सगर पुग्छ त्यहाँ यसका उत्पादनहरू पुग्छन्। जग्गामात्र सरकारले वा कम्युनिटीले दान दिएर स्थापना गरिएको यो एउटा प्राइभेट संस्था हो जसको नाम मात्र पनि अहिले संसारका वैज्ञानिक तथा प्राविधिकका लागि गौरवको विषय हो।

यहाँ पुुराना भवनलाई मर्मत संहार गर्दै पुरानो स्वरूपलाई जस्ताको तस्तै राखेर इतिहासको संरक्षण गरेको देखेर भने गजब लागेको छ। त्यसो त एमआईटीका ज्यादै मनमोहक तथा अनौठा डिजाइन भएका भवनहरू पनि छन्। हाम्रो नेपालमा भए त त्यस्ता पुराना भवनलाई भत्काएर नयाँ बनाउने थिए क्रान्तिकारीहरूले।

र इतिहासबाट त्यो भवनको नामोनिसान हटाएर विकासको फुइँ लाउने थिए। तर यहाँ त्यही पुरानो भवनका अगाडि उभिएर अनेकौँ पोजका तस्बिरहरू खिचिरहेका छन् हुलका हुल मान्छे। याने कि त्यो पुरानो भवन पर्यटकको आकर्षणको केन्द्र बनेको रहेछ।

सुमेशले मलाई भन्दै छन्-भिनाजु, यो बोस्टन सहरमा मात्र ३५ भन्दा धेरै कलेज, विश्वविद्यालय, तथा कम्युनिटी कलेज छन्। धेरै मान्छेले रोजगारी पाएका छन्।

अब हामीले यहाँ गर्नु पर्ने हेर्नु पर्ने केही छैन। त्यसैले बोस्टन विश्वविद्यालयको डेन्टल कलेजमा जाँदै छौँ। किनकि मेरो भदाहाबुहारी विवेकाले बोस्टन युनिभर्सिटीमा पढेर दाँतको डाक्टर बनेकी थिइन्। अमेरिकामा दाँतको डाक्टर बन्नु भनेको निकै कठिन काम मानिन्छ।

मैले विवेकालाई अग्घोरै सम्झनु पर्छ यति बेला। किन भने अमेरिकामा मेरो दाँत दुखेर टनटन भइरहेको हुन्थ्यो। खासमा एउटा बङ्गारा फुकाल्नु थियो। डाक्टरले दाँतलाई नम्बरले बोलाउँदा रहेछन्। मेरो त्यो टनटनी दुख्ने प्वाल परेको दाँत बत्तीस नम्बरको थियो।

याने कि केटाकटीमा ‘तेरा बत्तीसा झारी दिऊँला’ भनेको सम्झेँ। संयोग मेरो पनि त्यही बत्तीस नम्बरको बुद्धि बङ्गारो फुकाल्नु थियो। बुद्धि ता मेरो उमेर सँगसँगै त्यसै सकिएकै थियो। उसै सकिएको थियो। त्यसको त के चिन्ता भयो र ? तर अमेरिकामा बुद्धिबङ्गारो झार्नु पनि निकै महँगो कर्म थियो।

अमेरिकामा छोरीले एकपल्ट मेरो दाँत डाक्टरलाई देखाउँदा मात्र याने दाँतलाई डाक्टरले अङ्ग्रेजीमा बोलेर हेरेको मात्र इन्स्योरेन्सले तिर्नेसहित अमेरिकी डलर १४०० को बिल आएको थियो। त्यो भनेको नेपाली रुपियाँमा रूपान्तरण गरेर हेर्दा डेढ लाखभन्दा बढी थियो।

यी सबै कुरालाई हृदयाङ्गम गरी दाँत फुकाल्न सकिरहेको थिइनँ। नेपालीले जानेको अचुक औषधी ल्वाङको तेलले पनि केही लछारपाटो लाएको थिएन। नुनपानीको कुल्लाले तातोपानी लाएको थिएन। नेपालमा छँदा पो समाज डेन्टल क्लिनिकमा गएर डाक्टर सुभाष घिमिरेलाई देखाउँदा १० डलरभन्दा कममै नेपालीमा बोलेर हाँसीहाँसी दाँत फुकालिन्थ्यो।

अमेरिकाको स्वास्थ्य सुबिधा अति स्तरीय त छ, तर आम मान्छेका लागि आकाशको फल आँखा तरी मर भनेझैँ पनि छ। पैसाले बनाएको देश अमेरिकामा मजस्ता बेकारीका लागि त झन् असहज छ।

विवेकाले मेरो समस्या बुझेकी थिइन्। अनि उनले काम गर्ने न्युयोर्कको रिफुवा हेल्थ सेन्टरमा लगेर मेरो बत्तीसा फुकाली दिएकी थिइन्। न्युयोर्क सरकारले न्युन आय भएका व्यक्तिका लागि कोपे तिरेर उपचार गराउन पाइने ठाउँ रहेछ त्यो। त्यो अस्पताल खास गरेर यहुदीका लागि बनाइएको रहेछ।

मनमनै लाग्यो यस्तो पो सरकार। तब पो सरकारलाई ट्याक्स तिर्नु। म विवेकालाई सम्झिरहेको रहेछु। उनी मेरा मित्र प्राडा माधव कोइरालाकी पुत्री भएको र मेरो भदाहासालोसँग बिहेका लागि कन्यार्थु लमी आफैँ भएको संयोगीय दिनलाई पनि सम्झेँ प्रसङ्गले।

अन्ततः हामी बोस्टन विश्वविद्यालयको दाँत विभागमा पुगेका छौँ। यो अग्लो भवन। सडकसँगै जोडिएको भवनको बाहिर फोटो खिच्ने ठाउँ बनाइदिएको हुने रहेछ। त्यहाँ उभिएर फोटो खिचिरहँदा सुमेशले सडकतिर औँल्याउदै भनेका छन् -भिनाजु, अहिले विद्यार्थीको गर्मी छुट्टी भएर पो। नत्र अहिले यो सडक पार गर्न कति हम्मे पर्ने थियो। पार्क गर्न पाउने त सम्भावना नै हुँदैनथ्यो।

यो विश्वविद्यालयमा पुग्दा मोबाइलले ९० डिग्री तापक्रम देखाइरहेको छ। विवेकाका गाला पसिनाले लत्पतिएका छन्। हामी गहुँ गोराको पनि हाल असिनपसिन छ। उनको अनुहारमा माइत पुगेझैँ आभा फैलिएको छ। विश्वविद्यालयप्रति गौरव अनुभूत गर्दै छिन् सायद। आफैँलाई डाक्टर बनाउने भवनको अगाडि जो उभिएकी छिन्।

तप्तताको परवाह नगरी पोजमाथि पोज दिएर फोटो खिचेपछि हामी ट्रिनिटी चर्च हेर्न आइपुगेका छौँ। यो चर्च निकै पुरानो मानिन्छ। काठैकाठले बनेको विशाल भवनमा कोलाहल सहरका बिचमा पनि शान्ति देखिन्छ। चर्चका अगाडि धारा छन्।

धारामा पानी सङ्लो छ। माछा पौडी खेलिरहेका छन्। चर्चकै प्राङ्गणमा खरायो र कछुवाको कथामा आधारित मूर्ति रहेछ। कछुवा हिँडिरहेको मुद्रामा छ भने खरायो निदाएको छ। त्यसलाई त मैले ख्याल नै गरेको थिइनँ। एक जना गोरीले मलाई भनिन् — यो खरायो र कछुवाको मूर्तिले लोककथाको स्मरण दिलाउँछ।

अहो ! यो खरायो र कछुवाको लोककथा त अन्तर्राष्ट्रिय पो रहेछ। नेपालको पेवा लोककथा होला भनिठानेको त मैले। तर अमेरिकामा चर्चका अगाडि प्राथमिकता दिएर बनाइएका ती मूर्तिले अनवरत परिश्रम तथा ंजीवनसँग नथाक्ने सन्देश दिइरहेको छ।

यसपछि हामी मासाच्युसेको स्टेट बिल्डिङ हेर्न आइपुगेका छौँ। त्यो भनेको मासाच्युसे राज्यको संसद भवन हो। संसद भवन मर्मत गरिँदै छ। त्यसैले भित्र गएर हेर्न पाउने सम्भावना छैन। फोटोमा त्यो सांसद भवन हाम्रा पछाडि आएर उभिएको छ।

सडकको एकापट्टि संसद भवन छ भने अर्को पट्टि याने कि त्यसको ठिकअगाडि ‘बोस्टन कमन’ नामको निकै ठूलो पार्क छ। सन १६३४ मा प्युरिटन कोलोनिस्टले ४४ एकड जग्गा किनेर सार्वजनिक पार्क बनाएका थिए रे।

त्यसैले त्यो पार्कको नाम बोस्टन कमन रहन गएको रहेछ। यो पार्क अमेरिकाको सबैभन्दा पुरानो पब्लिक पार्क हो रहेछ। यही पार्कमा जर्ज वासिङ्गटनलगायतका नेताहरूले अमेरिकी स्वतन्त्रताको खुसी भव्यतापूर्वक मनाएकोले यो पार्कको अर्को नाम ‘फ्रिडम ट्रेल’ पनि रहेछ।

सिभिल वारका सैन्यको तालिम दिइएको पार्क पनि यही रहेछ। अमेरिकाको एन्टी स्लेभरी मिटिङ पनि यहीँ भएको रहेछ। त्यसैले यो बोस्टन कमन पार्क नेपालको सदर टुँडीखेलजस्तै ऐतिहासिक महत्ताको रहेछ।

विभिन्न कालखण्डको इतिहासको साक्षी र सहयोगी रहेछ। पार्कभित्र पोखरी, मान्छे हिँड्ने ट्रेल, खेल मैदानहरू प्रशस्त देखिएका छन्। हामीलाई गर्मीले बातो बसाएको छ। त्यहाँ ठेलागाडामा राखिएको ताजा कागतीपानी पिएर गर्मीको परवाह नगरी यो ऐतिहासिक पार्कको बेन्चमा बसेका छौँ।

पार्ककै कुनाको एउटा बेन्चमा बसेर एक युगल जोडी सवस्त्र नागवेष्ठित यौन मुद्रामा लगातार लगातार म्वाइँ खाइरहेका देखिएका छन्। मेरा पापी आँखाले त्यो दृश्य देखिहाले। लगभग एक घन्टासम्म हामी यही पार्कमा बसुञ्जेल पनि ती त्यस्तै मुद्रामा अविच्छिन्न म्वाइ खाइरहेका छन्। ती असीम आनन्दमा छन् सायद।

अघाउने कुरा थिएन। अनि चास्सचुस्स म्वाइँको त के हिसाब पनि भयो र अमेरिकामा ? त्यो त पार्कभरि यत्रतत्र देख्न पाइन्थ्यो। सायद मेरो कुण्ठा होला, यो कृत्य माया हो कि उन्माद हो मैले केही थाहा पाइनँ। मेरो त नजर त्यो दृश्यले खिचि नै रहेको छ।

तर मान्छेले भने त्यसलाई केही महत्त्व दिएका छैनन्। सायद यो स्वाभाविक नै होला। तर मेरो नेपाली कट्टरपन्थी मन भने आफैँलाई प्रश्न गर्न थाल्यो- होइन यो मान्छेको जात के के चाहन्छ हँ ? फेरि उत्ति नै खेर उनीहरूको उन्मुक्त प्रेमको भने आहारिस लाग्यो।

दिनको ४ बजिसकेको छ। हामी फिर्दै छौँ न्युयोर्क घर। विवेकाको अनुहार गर्मीका कारणले निकै गलेको तथा उडेको देखिएको छ। थकित छ। खानेकुराका बारेमा कुरा हुँदा विवेकाले सुस्तरी भनेकी छिन् -मलाई त घर पुगेर लौकाको तरकारी र भात खान मन छ।

अनि मलाई उनको अति माया लागेकाले भनेको थिएँ-मलाई केही भएको छैन विवेका। म तिमीलाई लौकाको तरकारी र भात पकाएर खुवाउँछु।
यसरी मैले बोस्टनको सहर छोडेको छु। बोस्टनको सगर छोडेको छु। तर विद्याको सागर बोस्टनलाई नबिर्सने गरी मेरो यो यात्रा सकिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *