ग्रामीण क्षेत्रमा विस्तार गरिँदै केन्द्रीय प्रसारण लाइन

डिसी नेपाल
१३ पुष २०८१ ७:१८
28
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । अहिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।

अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उनको भनाइ छ ।

जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्‌को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउँछन् । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उनले जानकारी दिए ।

प्रमुख पौडलले भने, ‘बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ । त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।’

जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्‌को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताइन् । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उनले गुनासो गरिन् ।

‘सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ,’ रसाइलीले भनिन्, ‘अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउन पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।’ रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *