लघुकथा : घेरा
दाल, भात, तरकारी र अचार हटकेसमा मिलाएर राखी दिएछन् र छोरो र बुहारीले खाना खाएछन्।
खाना खाने बेलामा छोराले फोन गरेको थियो। जवाफमा ऋषिले भनेको थियो- ‘केही समय लाग्छ। हतार छ भने खाओ।’
र, खाएछन्।
निलिमा होउन्जेल यस्तो हुँदैनथ्यो। कसैलाई अपर्झट बाहिर निस्किनु परेको छ भने मात्र, नत्र निलिमाको जोड खाना खाने बेलामा परिवारका सबै सदस्य हुनुपर्छ भन्ने पक्षमा रहन्थ्यो।
ऊ गर्थी पनि त्यस्तै।
‘आधाघन्टा पर्खिँदा कलेजबाट छोरो आइ पुग्छ भने हामीले हतार हतार किन खानु पर्यो!’ भन्थी निलिमा।
आजकै जस्तो भएको थियो एक दिन।
खाना पाकेको जानकारी पाएर पनि ऋषि एक घन्टा ढिलो भयो। कसैले खाना खाएका थिएनन्। घर पुगेपछि ऋषि जङ्गिएको थियो- ‘के पारा हो यस्तो!’
निलिमाले भनेकी थिई- ‘सबैसँगै बसेर खानुको रमाइलो नै छुट्टै! तिमी सके यो बुझ्दैनौ। खाना तताएर खाने। एकैछिनमा ताती हाल्छ नि!’
आज छोराबुहारीले दश मिनेट पनि पर्खेनछन्।
ऋषि भात खान बस्यो।
उसले आज गाँसपिच्छे निलिमालाई सम्झियो। परिवारका सबैजना सँगै बसेर खाँदा हुने रमाइलो निलिमाले आफूसँगै लिएर गइछे क्यारे!
कि, ऊ परिवारको अपरिहार्य घेराबाट अलिकति बाहिर पुगेको हो?
ऋषिलाई आज खाना खाइसक्न धेरैबेर लाग्यो।
No ads found for this position




Facebook Comment