कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

डिसी नेपाल
१८ पुष २०८१ २०:११
140
Shares

धनकुटा। कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ। यसैगरी नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह ९चिनी रोग० देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार तीन सय ८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार तीन सय ३९ रहेको छ।

त्यस्तै तेस्रो स्थानमा धुवाँ–धुलो र धूमपानबाट हुने दीर्घकालीन प्रकृतिको स्वाशप्रस्वास (सिओपिडी) रोगसँग सम्बन्धित बिरामी देखिएको कार्यालयले जनाएको छ। दम रोगसँग मिल्दोजुल्दो यस किसिमको रोगबाट ५५ हजार नौ सय ५९ जना प्रभावित भएको सो कार्यालयको तथ्यांकमा उल्लेख छ।

यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा कोशी प्रदेशमा चार हजार सात सय ७८ जना स्वाशप्रस्वासका बिरामी देखिएका छन्। त्यस्तै चौँथोमा रहेको मानसिक रोगसँग सम्बन्धित बिरामीको सङ्ख्या ३३ हजार तीन सय ३१ र पाँचौंमा दमका बिरामी ३१ हजार सातसय ४९ जना रहेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार तीन सय १७ जना मानसिक रोगबाट पीडित रहेको पनि प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ।

समग्रमा कोशी प्रदेशमा छ लाख ४९ हजार तीन सय ८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने प्रकृतिका रोगबाट प्रभावित रहेको सो कार्यालयले स्पष्ट गरेको छ। कार्यालयका निर्देशक डा सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्याबाट ३५ वर्षभन्दा माथिका उमेर समूहका मानिस बढी प्रभावित भएका छन्।

झापा जिल्लामा मात्र आव २०८०/८१ मा ९९ हजार एक सय ७३ जना रक्तचापको समस्याबाट पीडित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरी मोरङमा ५२ हजार चार सय ५०, इलाममा ३८ हजार सात सय २२, सुनसरीमा ३५ हजार सात सय ८० र उदयपुरमा ११ हजार तीन सय ३४ जना रक्तचापसँग सम्बन्धित बिरामी रहेका छन्। डा मेहताका अनुसार आफ्नो घरमा तयार हुने रेशादार एवं हरियो सागसब्जीसहितको प्राङ्गारिक खानाभन्दा होटल तथा बजारका खानामा जोड दिँदा, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा तथा मध्यपान, धूमपान र मादकपदार्थ सेवनमा व्यक्तिको लत बस्दा उच्च रक्तचापका बिरामीको सङ्ख्या वृद्धि भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *