कविता: खै कस्तो तनावग्रस्त तन्त्र !

सुशील लामा
२१ चैत २०८१ १४:४७
88
Shares

सडक अत्तालिएको छ।
मान्छेको शरीरदेखि बगेको रगतको बाछिटाहरुले
यो तन्त्र र उ तन्त्रको नाउँमा
कठै जनतालाई
यता लतारेको छ, उता लछारपछार पारेको छ
आँधीले लतारेको
खोला छेउको काँसघारीलाई जसरी
सत्य बोल्नेको मुख थुन्ने
जीवन बाँच्न रोजगार माग्दा
अरब र मलायको बाटो देखाउने,
न्याय माग्न न्यायलय जाँदा
न्यायाधीश नै न्याय नपाएर घरैमा नजरबन्दी बन्नु पर्ने!
जाबो ब्यक्तिगत स्वार्थको खातिर
नीति-विधि,सिद्धान्त पोलेर
बिचलित अवसरवादी दारु-धतुरोको निम्ति
अस्वभाविक स्वादिलो सितन बनाउने
खैं कस्तो तिम्रो तनावग्रस्त तन्त्र?
~~~~~
-त्यसैले,
महामहिम भगवान रुपी साशक हो…
सही ठाउँमा पुग्न हिँड्नेको खुट्टाहरुलाईँ काटिदेउ
विजयको झण्डा फहराउने हात हरुलाईँ भाँचिदेउ
न्याय माग्न तिमी सम्म आइपुग्न
बाटो देखाउने आँखाहरुलाईं फोडिदेउ,
तिमीले गरेको बैमानी कर्मको
खबर सुन्ने कानहरुलाई नसुन्ने गरी थुनीदेउ
चेतनशील मस्तिष्कमा क्रुरताको झिर रोपिदेउ।
विवेकशिल बिचारमा बुलडोजर चलाईदेऊ।
मैनबत्ती जस्तै जिउँदो छोराछोरीलाई
तिम्रो आँखा अघिल्तिर जल्न देउ।
हुरु…हुर…. बल्नदेउ
यहिी नै त रहेछ तिम्रो
गज्जबको तनावग्रस्त तन्त्र!
~~~~~
तिम्रै हरुकै छ राज!
तिम्रै हरुकै छ अधिकार!
तिम्रै हरुकौ छ हालीमुहाली!
तिमी र तिमी जस्ताको लागि मात्रै आको रहेछ।
छेपारे तन्त्र।
गज्जबको गणतन्त्र, लोकतन्त्र
हिजो अस्ति…
राजा, राणा, पञ्चले गर्दा
बोल्न पाएन, लेख्न पाएन
हिँड्न पाएन, स्वतन्त्रता पाएन भन्दै
चुपचाप मिली बसेका
सोझा-सिधा मानिसको
मनदेखि मस्तिष्कसम्म
क्रान्ति को कुरा…
बराबरी को कुरा…
अधिकार को कुरा…
समावेशीदेखि आरक्षण को कुरा…
जातै पिच्छे राज्य बाँड्ने तिम्रो घातक कुरा…
के के के के…..
परिवर्तनको नाउँमा शब्दकोष रित्याएर
सस्तो-मस्तो लोकप्रिय नारा
बाँडदै हिड्यौ।
अनाहकमा शान्त बुद्धको देशमा
नरबली दिँदै
रगतै-रगतको होली खेल्यौ।
कतिलाई मारेर गाड्यौ।
कतिलाई जिउँदै जलायौ।
कतिलाई हात-खुट्टा छिनाएर
जिउँदो लास बनायौ।
बिधुवा,टुहुरा कतिकति
बा-गुमाएका, आमा-गुमाएका
नातागोता,सहगोत्री,भाइबन्दु गुमाएका
चिहान नपाएर वायु बनेका
कर्म,काण्डी श्राद्ध पिण्ड नपाएर हावामा उडिरहेका
अदृश्य चिर आत्माहरुलाई।
सिउँदोको सिन्दुर पुछेर
छात्तीभरी बारुदको छर्रा बोकेर
टिठ लाग्दो मृत्यु कुर्नेहरुलाई
के भन्छौ? के दिन्छौ?
वाह!
तिमिले अनि तिमी जस्तैले
हजारौं जिन्दगीलाई बली दिएर ल्याएको
नयाँ युगको नयाँ तन्त्र
बोल्दा मुख थुन्ने
अनि बोल्यो भन्दैमा जनतालाई
झ्यालखाना मा कोच्ने!
क्या गतिलो गज्जबको नयाँ तन्त्र!

पाँचखाल -११,काभ्रेपलान्चोक
हाल – लिमासोल,साईप्रस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *