संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
३१ चैत २०८१ १७:४४
140
Shares

काभ्रे । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन्।

काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका हुन्।

‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ। कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलाफमा गएर केही हुँदैन’, उनले भने,‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ। संविधान सशोधन गर्न सकिन्छ।’

०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको चर्चा गर्दै उनले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएको बताए।

अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको काम समेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको दाबी गरे।

अघिल्लो पुस्ताले कष्टकर जीवन विताउनुपरेको अवस्था विर्सन नहुने भन्दै विकासको काम क्रमिक रूपमा हुने बताए। ०४६ को परिवर्तनपछि विकासका धेरै काम भएको उनको भनाइ छ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिए। संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताए।

‘सहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन। मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ। अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएको छ। भोलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले नमोबुद्द नगरपालिकाको ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेको थाहा पाउँदा खुशी लागेको भन्दै नागरिकलाई निरोगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए।

अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेको भन्दै सचेत रहन पनि सिंहले आग्रह गरे। हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उनले कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.