निलम्बित न्यायाधीश भुवन गिरी रिहा
काठमाडौं। उच्च अदालत पाटनले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सफाइ दिएको छ।
न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। निलम्बित न्यायाधीश गिरीमाथि उनीकी श्रीमती आरती रावल गिरीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन्।
काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश गिरीलाई उक्त मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो। सफाइ पाएसँगै उनी आज कारागार कार्यालय डिल्लीबजारबाट रिहा भइसकेका छन्।
फैसलाअनुसार मिसिल संलग्न प्रयोगशाला परीक्षण प्रतिवेदन समेतबाट उनीहरूबीच शारीरिक सम्बन्ध भएको देखिने कुनै तथ्य स्थापित हुन सकेको पाइँदैन। जाहेरवालाको बकपत्रमा उल्लेख कुराहरु पनि अभियोगको वारदात शंकारहित तवरबाट स्थापित हुन नसकेको फैसलामा उल्लेख छ।
‘जाहेरवालाको बकपत्रमा उल्लेख भएबाट प्रस्तुत अभियोगको वारदात शंकारहित तवरबाट स्थापित हुनसकेको देखिँदैन। सो समेतको परिस्थितिमा गिरीमाथिको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन नसकेकोले यी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिनुपर्ने,’ फैसलामा भनिएको छ। गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए।
त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment