कविता :अव्यवस्था र आन्दोलनको लहर

शंकरप्रसाद रिजाल
२० वैशाख २०८२ ८:०३
156
Shares

रोकिएन आन्दोलन यहाँ जस्तै नेता भएपनि
भएन शान्ति यहाँ जस्तै व्यवस्था भएपनि।

यो व्यवस्था हाम्रो हो र यहाँ शान्ति आउने
बिदेशीको ब्यबस्था ल्याई यहाँ शितल छाउने।

प्रजातन्त्र भनी भन्छन् नेता भारत कुद्छन्।
उसकै फाइदाको लागि नेता अघी बढ्दछन्।

नामै मात्र रह्यो स्वतन्त्रको नेपाली बन्धनमा परे
नेता केही गर्दैनन् जनताले दुःख पाउनु पर्यो।

हिमाल पहाड नदी नाला देखाइ नाक ठाडो सधैं गरी
के दियो र यो सबले सोझा जनता सधैं रुने गरी।

शक्तिको दुरुपयोग गर्दै नेताहरु सबै ठूला भए
बिचरा जनताहरु रोइ रोइ थाकी सके।

व्यवस्था फर्किरहन्छ नयाँ परीक्षण गरिकन
हुँदैन केही बिकास एकै व्यवस्था भइकन।

छिमेकी देशमा हेर बिकास कति तिब्र छ
हेर नेपालको बिकास त्यो कति शून्य छ।

सात सालपछि देशमा नेता कांग्रेसका भए
बिकास भने देशमा खोइ कहाँ कहाँ गए।

आसै आशामा बिते सबको जीवन निरासामा
लागेन कसैको पनि जोड यो देशको बिकासमा।

आखिर पञ्चायती व्यवस्था नेपालामा आइ गयो
सबै पार्टीहरुका नेता नजरबन्दमा परी गए।

बिकासको मूल फुट्यो राजा महेन्द्रको अगुवाइमा
बार वर्षसम्म रह्यो देश उनकै सवल नेतृत्वमा।

संसारले चिन्यो नेपाल र नेपालीको पौरख
यसैले नै सम्हालेको छ नेपालको यो गौरब।

पछि वीरेन्द्रको शासनमा व्यवस्था फेरि उल्टियो
राजा संबिधान मुन्तिर रही शासन नै फेरियो।

राजा थिए सिधा साधा राष्ट्र प्रेमीपनि थिए
उनको सादगी पनले सबै उनीमाथि खनिए।

बांगा टिंगा भए नेता राजाको तन्त्र फालन
बिदेशीकै पछि लागे उनलाई हटाउन।

माओवादी पनि निस्क्यो व्यवस्था फेरि फालन
राजतन्त्र हटाइ गणतन्त्र र लोकतन्त्र ल्याउन।

आखीर बंश नै हत्त्या भो बचेनन् कोही सन्तति
ठूलो दशाको उल्टी भो आयो अर्को विसंगति।

राजा ज्ञानेन्द्र पनि निस्के श्रीपेच नासोमा दिइ
दुई सय चालिस बर्षको संथालाई छिनमै छाडी दिइ।

अहो राजा तिमी कस्तो हत्त्यासंग डराउने
नेताजस्तो तिमी होइनौं हज्जारौं जनता मराउने।

बीस वर्ष कुर्यौ तिमीले नेपालको बिकास हेरन
ल्याएको व्यवस्था हेर्यौ तिमीले कस्तो भो देखन।

सबैले दुत्कारे तिमीलाई भाइमारा भनीकन
तिमी त केही बोल्दैनौं जवाफ नदिइकन।

हाँसी मुसुमुसु हिँड्दै छौ सडकमा जनतासँग
सबै जनता टोलाई हेर्छन् तिम्रो त्यो सादगीपन।

सबै बिकास खोक्रो भो यो गणतन्त्रको समयमा
भएका सब उद्योग नासिए यस कालमा।

अति भो अति भो भन्दै जागे जनता सडकमा
रोकिएन आन्दोलन कहिल्यै यो देश नेपालमा।

अब के हुने हो देशमा जनता त्रस्त भै गए
सधैंको आन्दोलनले सबै युवाहरु बिदेशीए।

चाहनन् कोही आन्दोलन एक विकास भैदिए
पुराना सब नेताले आफ्नो ठाउँ छोडी दिए।

लाखौं युवाहरु हुर्केका छन् आफ्ना शिपहरु बोकी
युवाहरुले नै चलाउने हो अब यो सत्तामा बसी।

धिक्कार छ यी नेताहरुलाई गरेनन् केही उद्यम
अब सबै मिली अघि लागौं यी नेता सब फालन।

चन्द्र सूर्यको प्रेमालाप

संसारमा प्रेम सबैले गर्छन् जोडी मिलिकन
चन्द्र ती साँझमा घुम्छिन् सूर्य खोजिकन।

रातमा हुन्न त्यो भेट सूर्य हुन्छन् लुकेसरी
दिनमा हुनन् ती रानी कतै बिश्राम गरेसरी।

चन्द्रमा झुल्किने राति बिहानीमा सूर्य व्युँझिने
बर बधुको होला मिलाप कैले एकैछिन मिलने।

हजार तेज भएनि चन्द्रमा उनी नदेखने
उज्यालो शितलको छायाँमा सूर्य कतै नभेटिने।

आलाप त्यो तिनको कसले यहाँ सुनिदिने
यिनका प्रेमको भेट यहाँ कहिल्यै नभेटिने।

राता गाला लिइ हिँड्छन् सूर्य चन्द्रको अघि
घुम्टो चन्द्रमा हाली बस्छिन् रुँदै सधैं पछि।

रोइ कराइ सूर्य हिड्छन् चन्द्रको त्यो भेटमा
पाउनन् कहिले तिनको मुहार त्यो नयनमा।

कति जन्म बिते दुईको प्रेमको त्यो आलापमा
भएन मिलन कैले उनीहरुको यो जीवनमा।

घाम शितल दुवै तिनको यो जीवनमा खुलेको
बिछोडको दूरीमा छ दुबैको जीवन बितेको।

डाँडापाखा नदीनाला घुम्छन् सूर्य ती चन्द्र भेटन
जुनेली रातमा हिँड्छिन् चन्द्र सूर्य ती खोजन।

रिसले चट्याङ चम्किन्छ सूर्यको तडपायिमा
वर्षाको भेल बर्सिन्छ चन्द्रमाको परखायीमा।

पूर्वमा झुल्किने सूर्य पश्चिम अस्ताउँदापनि
भेट कहिल्यै भएन दुईको सधैं पछ्छ्याउँदापनि।

चन्द्र रुँदछिन् उता साँझ आफ्नो प्रियसखेप्रति
ताराहरुपनि रुन्छन् उनको बेदर्द बेदनाप्रति।

युगौंको आलापमा छन् चन्द्र सूर्य भएपनि
हुन्न भेट कहिल्यै उनको दिनरात परेपनि।

जति आकाश त्यो रुन्छ पृथ्वी ती नपाउँदा
उसैगरी सूर्य ती रुन्छन् ती चन्द्रमा नभेटिँदा।

ओहो! त्यो प्रेमको डोर कति कठिन हुँदोरहेछ
पछ्छ्याउँदा पछ्याउँदै कति युग बित्दो रहेछ।

म भन्न सक्तिन प्रेमको उचाई कहाँसम्म छ
नाप्न सक्तिन यसको गहिराइ कहाँसम्म छ।।

आज युगौंदेखि ती चन्द्र सूर्य तड्पी रहेछन्
प्रेमको मोह जालमा फस्दै ती अल्झिरहेछन्।

नटुटोस् प्रेमको डोर मिलन त्यो नभएपनि
बनीरहोस् दिनरात जीवनमा जेसुकै भएपनि।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *