उपनिर्वाचनको तयारीमा जुट्यो काँग्रेस

डिसी नेपाल
१२ भदौ २०७६ २०:२८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुटेको छ। एक प्रतिनिधिसभा सदस्य, एक प्रदेश सदस्य, एक मेयर र अन्य वडा अध्यक्षसहित ५१ स्थानका लागि हुने उपनिर्वाचनको तयारीमा काँग्रेस जुटेको हो।

काँग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा उपनिर्वाचन सम्बन्धि विषयले प्रवेश पाएको छ। बैठकमा उपनिर्वाचनबारे नेताहरुले सामान्य धारणामात्र राख्ने काम भएको एक काँग्रेस केन्द्रीय सदस्यले जानकारी दिए। उनले जारी केन्द्रीय समिति बैठकले नै उपनिर्वाचनका लागि रणनीति तयार पार्ने बताए ।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव प्रस्तुत गरेको पार्टी मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा नेविसंघलगायतका भातृ संगठनको गठनबारे छलफल भएको थियो। बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

यस्तै बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय डा. प्रयागदत्त लेखकको भाद्र ७ गते, नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, काभ्रेका पूर्व कोषाध्यक्ष, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं शंकरदेव क्याम्पस स्ववियुका पूर्व सभापति मनोहर गोपाल श्रेष्ठको निधनप्रति समवेदना प्रस्ताव पारित गरेको छ।

यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति कविराज पण्डितको ९० वर्षीया माता रत्नकला पण्डित, दाङ जिल्ला साविक नारायणपुर गाविस १ कार्यसमितिका पूर्व सभापति वीरेन्द्र पाण्डेको भाद्र १० गते, धनुषा बटेश्वर गापा १ का ६२ वर्षीय लक्ष्मीनिवासका पूर्व सभापति रामनारायण महतोलगायत पार्टी निकटका व्यक्तिहरुको निधनमा समवेदना प्रकट गरेको छ। बैठक शुक्रबार पनि बस्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *