पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू
कास्की। देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ।
नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक राजधानी बाहिर पोखरा रंगशालाको बहुउद्देशीय कभर्ड हलमा खेल सञ्चालन भएको हो। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहबीच उद्घाटन गरे।
प्रतियोगिताअन्तर्गत आजका खेलमा पुरूषतर्फ नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब विजयी भए। महिलातर्फ भने एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरूआत गरे।
पुरूषतर्फ मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको छ। पुलिसले २९-२७, २५-२० र २६-२४ ले जित दर्ता गर्न सफल भयो।
हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्न सफल भयो । हेल्प नेपालले ३०-२८, २५-२१ र २५-२० ले खेल जित्यो। घरेलु टोली गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले हरायो। गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो। यसैगरी एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो। एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो।
महिलातर्फको खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई २२-२५, २५-१९, २५-१७ र २५-१३ ले हरायो। यसैगरी एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो।
प्रतियोगितामा पुरूषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहेको छ। पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदुरपश्चिम प्रदेश र मणिमुकुकन्द भलिबल क्लब बुटबलले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फका उपाधि विजेताले नगद रू आठ लाखका दरले पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले समान रु चार/चार लाख तथा तृतीय हुने टोलीले समान रु दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।
यही जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरूले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment