ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
गाडीमा सवार रहेकामध्ये दुई जना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानी कुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा) घाइते छन्।
दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment