मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

डिसी नेपाल
२८ जेठ २०८२ ८:१९
32
Shares

दमौली (तनहुँ)। आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रतिकिलो रु २५ का दरले अनुदान दिन्छौँ ।”

चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार ७०० अनुदान पाएका छन् ।

त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार २५० अनुदान पाएका छन् ।

भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार ५७५ अनुदान पाएका छन् ।

खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताए। रासससँगको कुराकानीमा उनले भने, “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *