कविता : जलेको मन
मनुष्य जीवन किन यस्तो भइ गयो
सुख भोग र सयल कल्पना भइ गयो
जन्मियौ धर्तीमा नवजीवन लिइकन
आशा उमंग सारा यो मनमा लिइकन
मातापिता दुईको काखमा बसिइकन
तोते बोलिमा कुरा हुन्थ्यो बोलिकंन
नातागोता सबै मायाले बोकी हिँड्दथे
खुसीहरु जीवनमा साथी भइ अघिसर्दथे
बिस्तारै हुर्कँदै जाँदा सानुबाट ठूलो भएँ
विद्या आर्जनको लागि पाठशालापनि गएँ
माता पिता दुवैको आश ठूलो थियो ममा
मन भित्र थियो बस्ने सुखसँग परिवारमा
अहो ठूलो आपद आयो एकैचोटी उल्टिँदै
एक सफरमा दुवैको नदीमा बस पल्टिँदै
हेर्दा लासको ढेर माता पिता पनि थिए
नहुने भइ गयो पीडा मन छियाछिया थिए
आगो दन्दन बल्दै गो मनभित्र हर्हरी
जलेको मन त्यो फेरि पोलिरहन्छ भत्भती
रोएको मनले हिँड्न खोज्छ जताततै
आँखाको आँशु त्यो मेरो खस्न कतै नपाउँदै
टुहुरो भइ गयो जीवन सहारा छैन खोइ कतै
भाग्यले डोहोर्याइ ल्यायो निसहाय बनी सबै
भइगो चाहिन्न यो जीवन दुःख पीडा सहिकन
जलेको मन यो मेरो बल्दै निभ्दै गरिकन
सूर्य चन्द्रको न्यानो केही छैन मनमा कतै
हाँसेको मन त्यो सबको राइरन्छ कतै यतै
दुःखको गीत भो सबको गाउने छैन खोइ कतै
जलेको मन त्यो सबको जलिरन्छ कतै यतै
सुख खोज्छु भनि हिँड्दा दुःख ओइरी आउँछ
सुकेको मनका नदी नाला भित्र भित्रै सुसाउँछ
जलेको मन यो सबको जलिरन्छ घरी घरी
दुःख पीडा चिन्ता हानि बढी रहन्छ घरी घरी
अब हाँसो खुसी र छैन सबै मलाई चाहिन्न
अब मृत्युसँग लड्नपनि म डराउन्न्न
जलेको मनमा सबको आगो बल्दछ हर्हरी
हाँसेको मनमा फेरि ईश्वर नाच्दछ छमछमी
अबस्था यो सबै हेर्दा मन जल्दछ बेसरी
सुकेको पातमा लागेको आगो बल्दछ जसरी
जली जली म मलाइ बिर्सी जाउँ बरु नसम्झुँ
जिउँदै मरूँ या आकासमा माथिमाथि उडीजाउँ।।
जीत र हार
जीत हार नफा हानि, जीवनका दुई तार हुन्
यही नै जीवनको सुख दुःखका दुई धार हुन्
आशा, भरोसा र निराशा यसैका दुई नाद हुन्
जीवन यसैमा रंगाउने ती परमेश्वर नै हुन्
एकको बिपरित अर्को छ राम्रो नराम्रो दुवै
सुखदुःख दुई शब्द आमुन्ने सामुन्ने छन् दुवै
कहाँ सुख कहाँ दुःख यसको जीवन भिन्न छ
कहाँ जीत कहाँ हार मूल्य नै तल माथि छ
सुखीको जीवन हेर हाँसेको छ कतै कतै
दुःखीको जीवन हेर हारेको छ जता ततै
सुखमा सबको भिड दुःखमा छैन कोहीपनि
जीतमा सबको बाजी हारमा शून्य जहाँपनि
जीतमा ईश्वरै दाहिना हुन्छन् हारमा दानवीहरु
सुखमा सब आफ्ना हुन्छन् दुःखमा उहीनै पराइहरु
माया मोहको प्रेम सबले गर्छन् जितनेहरुको
दया, ममता करुणा हुन्न ती हारनेमाथिहरुको
कर्मको छ ठूलो मूल्य पसिना जसले बगाउँछ
उसले हारको भाग्यलाई जीत कर्मले दबाउँछ
अल्छी, अज्ञानीको जीवनमा हार निश्चित छ
उद्यमी, ज्ञानीको जीवनमा जीत नै मित छ
लोभी जो कोही छ उ सधैं सधैं अतृप्त छ
यस्ताको जीवनमा फेरि यत्रतत्र हार छ
घमण्ड फेरि अर्को छ चम्किने हारको गति
यिनकोपनि गति त्यही लिएमा रावणको मति
सबैमा समता राख, चढाउ सोच बिबेकमा
जीत हाम्रो सधैं हुन्छ आजको जीवनमा
नदुखाउ चित्त कसैको हारको कर्म गरिकन
नबिझाउ नयनमा कसैको दुस्कर्मी भइकन
हार, जीत, नफा हानि सबै कर्मका हुन् फलहरु
सबै हास्दै रुँदै जान्छन् बुँद पानीका फोकाहरु
जीवनमा नहारको निशा छ नजीतको प्रभातनै
दृष्टिमै दोष सबको छ तेस्रो नयन बन्द झैं
जित हार, नफा हानि, कालो सेतो सबै रंग हुन्
यो सबै बुझ्न सक्नेलाई मनका एक तरंग हुन्
आँखा लोभी मनै पापी धुँदकारी बनिकन
जीत कसैको हुँदै हुन्न त्यो गोकर्ण नबनिकन।।
No ads found for this position


Facebook Comment