अमेरिकाले हतियार आपूर्ति रोकेपछि रुसी आक्रमण तेज हुने युक्रेनको त्रास
बीबीसी। अमेरिकाले हतियार आपूर्ति अवरुद्ध गर्नाले रुसले उसको लडाइँ झनै लम्ब्याइदिने किएभले चेतावनी दिएको छ।
रुसले युक्रेनमा युद्ध गरिरहेको यो चौथो वर्ष हो। मङ्गलवार ह्वाइट हाउसले युक्रेनमा भइरहेको कतिपय हतियारको आपूर्ति रोकिएको जनाएको थियो।
रक्षामन्त्रालयले अन्य देशहरूलाई गरिएका सैन्य सहयोगको समीक्षा गरेको र त्यस बमोजिम अमेरिकी स्वार्थलाई मुख्य प्राथमिकता दिँदा उक्त निर्णय लिनु परेको ह्वाइट हाउसकी प्रवक्ता एना केलीले बताएकी थिइन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई देशले ‘आपूर्तिका विस्तृत पक्षबारे प्रस्टता खोजिरहेको’ बताएका छन्। युक्रेनी विदेश मन्त्रालयले कुनै पनि ढिलाइले ‘आक्रमणकारीलाई शान्ति रोज्नुको साटो युद्ध र आतङ्क मच्चाउन प्रोत्साहन मिल्ने’ भनेको छ।
उसले खासगरी युक्रेनको हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउने आवश्यकतामा जोड दियो। रुसले हरेक रातजसो क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको छ।
बुधवार किएभस्थित एक अमेरिकी कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा वार्ताका निम्ति डाकिएको थियो।
तर युक्रेनको रक्षा मन्त्रालयले चाहिँ अहिलेसम्म हतियार आपूर्ति ‘स्थगन वा पुनर्विचार’बारे अमेरिकाबाट आफूलाई कुनै सूचना आइनसकेको बताएको छ।
उसले आक्रमणकारीविरुद्ध निरन्तर अनि संयुक्त दबावले मात्र युद्ध अन्त्यको मार्ग भेटिने बताएको छ।
गत सप्ताहान्तमा युक्रेनमा युद्ध सुरु भए यताकै भीषण हवाई हमला भएको थियो। ५ सयभन्दा धेरै ड्रोन अनि बलिस्टिक तथा क्रुज क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूमा प्रहार गरिएका थिए।
कहिलेदेखि आपूर्ति रोकिँदै छ भनेर अमेरिकी अधिकारीहरूले बताएका छैनन्।
अमेरिकी प्रसारण संस्था एनबीसीका अनुसार आपूर्ति रोकिने हतियारहरूमा प्याट्रिअट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, हाविट्जर म्युनिशन, क्षेप्यास्त्र तथा ग्रिनेड लन्चर पर्न सक्छन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले अतिक्रमण गरेयता अमेरिकाले युक्रेनलाई दशौँ अर्ब डलर बराबरका सैन्य सहायता दिएको छ। यसबाट अमेरिका स्वयंको अस्त्र भण्डारमा न्यून भण्डारण हुँदै गएको भनेर ट्रम्प प्रशासनका केही अधिकारीहरूले भन्ने गरेका छन्।
क्रेम्लीनले अमेरिकी निर्णयको स्वागत गर्दै युक्रेनमा हतियार आपूर्ति कम गराउँदा त्यहाँ लडाइँ चाँडै सकिने भनेको छ।
“जति थोरै हतियार युक्रेनमा आपूर्ति हुन्छ उति चाँडै यो विशेष सैन्य कारबाही समाप्त हुन्छ,” क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोफले पत्रकारहरूलाई बताए।
पछिल्लो अमेरिकी निर्णय राष्ट्रपति ट्रम्पले नेदर्ल्यान्ड्समा भएको नेटो सम्मेलनमा जेलेन्स्कीसँग हवाई प्रतिरक्षा प्रणालीबारे कुराकानी गरेको एक साता नबित्दै भएको छ।
फेब्रुअरीमा युक्रेनी राष्ट्रपतिसँग ओभल अफिसमा चर्काचर्की परेपछि ट्रम्पले हतियार आपूर्ति तथा जासुसी सूचना आदानप्रदान रोकिदिएका थिए। तर पछि ती दुवै रोक हटाइए।
एप्रिलमा दुई देशले युक्रेनको खनिज भण्डारमा अमेरिकी पहुँचको बदलामा सैन्य सहायता दिनेसम्बन्धी एक सम्झौता हस्ताक्षर गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment