माटोलाई सुरक्षा गर्दै कैलालीका किसान

डिसी नेपाल
२३ असार २०८२ ८:४८
12
Shares

टीकापुर। कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन्।

माटो जोगाउन किसानले माटो परीक्षण गरेर खेती गर्न थालेका छन् । किसानले पालिका र माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा माटो परीक्षण गरेर माटो परीक्षण कार्ड बनाउन थालेका छन्। किसानले माटोको रिपोर्ट अनुसार खेती गर्न थालेका छन्।

कैलालीको जानकी गाउँपालिका–२ की त्रलेक्यदेवी थापामगरसँग माटो परीक्षण नतिजा कार्ड छ । उनले आफ्नो जमिनको माटोको गुणस्तरबारे थाहा पाउने गरी यसरी कार्ड लिएको चार वर्ष भइसकेको छ ।

थापामगर प्रत्येक वर्ष आफ्नो खेतबारीको माटो परीक्षण गराउँछन्। ‘‘माटो परीक्षण रिपोर्टमा कृषि प्राविधिकले सिफारिस गरे अनुसार खेती गर्ने गरेका छौँ’’,उनले भने, ‘‘कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान भएको छ, यसले उत्पादन वृद्धिमासमेत सहयोग पुगेको छ । ’’

अर्का किसान लक्ष्मीदेवी मगरसँग पनि माटो परीक्षण कार्ड छ । उनीहरुलाई यसरी माटो परीक्षण गर्न जानकी गाउँपालिकाले सघाइरहेको छ । माटोको स्वास्थ्य बारेमा थाहा पाएपछि मलपानी आवश्यकता अनुसार प्रयोग गरे पुग्नेमा किसान सचेत भएका छन् । ‘‘माटोको अवस्था, माटो संरक्षणका लागि गर्नुपर्ने प्रयासबारे जानकारी हुने गरेको छ’’, लक्ष्मीदेवीले भन्नुभयो, ‘‘रासायनिक विषादीको प्रयोग घटाइरहेका छौँ, जैविक विषादी घरमै बनाउने गरेका छौँ, जसले उत्पादन बढेको छ, उत्पादन विषादीरहित हुँदै गएको छ ।’’

किसान जयसरा देवीले पनि माटो परीक्षण गरेपछि माटो अवस्था, कुन समयमा कुन खेती गर्दा बढी उत्पादन लिन सकिन्छ, मल प्रयोग र वातावरण कसरी जोगाउने भन्नेबारे पनि सिक्नुभएको छ । ‘‘नियमित खेती गर्न हुँदैन रहेछ भन्ने सिके, माटोभित्र पनि रोग हुनसक्छ, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने सिकाइ भएको छ’’, उहाँले भन्नुभयो, ‘‘माटो मलिलो बनाउने, कुन खेती गर्दा माटो जोगिन्छ भन्नेबारे पनि सिकेका छौँ ।’’

कैलालीमा स्थानीय तह र विभिन्न सङ्घ संस्थाको सक्रियतामा माटो जाँच कार्यक्रम हुने गरेका छन् । माटो जाँच गरेर आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउनु अघि जथाभावी रासायनिक मल प्रयोग गर्ने किसान अहिले प्राङगारिक, गोठे मलको प्रयोग बढाइरहेका स्थानीय कर्णबहादुर थापाले बताए। ‘‘माटो, मानिसको जीवन र वातावरण संरक्षण गर्ने जिम्मा किसानकै हातमा रहेछ’’, उनले भने, ‘‘यसमा स्थानीय सरकारले साथ दिनुपर्छ । हामीले प्राविधिक ज्ञान पाइरहेका छौँ ।’’

कैलालीकै जोशीपुर गाउँपालिका–२ मुद्धिका किसान प्रेमलाल महत्तोको खेतीपाती गर्ने तरिका हिजोआज बदलिएको छ । पहिले उत्पादन बढाउन रासायनिक मल धेरै हाल्दा उल्टै उत्पादन घट्यो ।

छरछिमेकमा सल्लाह गरेर माटो परीक्षण गर्ने निधो गरेपछि थाहा भयो माटोमा अमिलोपना बढेको तथा प्राङ्गारिक मलको कमी भएको रहेछ । कृषि प्राविधिकको सल्लाह अनुसार उनीहरुले खेती गर्ने तरिका बदलेपछि हाल उत्पादन बढेको छ ।

‘‘विगतमा हामी उत्पादन बढी लिने प्रयासमा माटो बिगार्ने काममा सक्रिय रहेछौँ भन्ने बुझेको छु’’, उनले भने, ‘‘माटो बचे पो जीवन बच्न भन्नेमा सचेत भएको छु । माटोमा बढेको अमिलोपना घटाउन ढैँचा जस्ता खेती, लहरे बालीमा ध्यान दिएका छौँ ।’’

कैलालीमा माटो जाँच गर्ने र माटो परीक्षण कार्डको आधारमा रासायनिक मलको मात्रा मिलाएर हाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न स्थानीय पालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजनालेसमेत किसान सचेत बनाइरहेका छन् । स्थानीय तह र सिँचाइ आयोजनाले किसान पाठशाला जस्ता कार्य गरेर हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिन थालेका छन् ।

जोशीपुरकै अर्का किसान प्यारेलाल महत्तो सबैतिरको प्रयासले किसानको बालीको उत्पादन बढ्नुका साथै माटोको गुणस्तर पनि सुधार हुँदै गएको र यसले गर्दा दिगो माटो व्यवस्थापनमा सघाउ पुगिरहेको उनको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । अनि, प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् ।

पालिकामा रहेका कृषि शाखामार्फत रासायनिक मल र विषादी दुबैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तर अनुसार खेती गर्ने काम भइरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरी बताउँछन्। ‘‘सुरुमा किसानको बारीको माटो जाँच हुन्छ, सोही अनुसार खेतीबाली लगाइन्छ’’, उनले भने, ‘‘यसरी खेती गर्दा उत्पादन बढ्छ, माटोको गुणस्तर बिग्रदैन । वातावरण संरक्षणमा सहयोग पुग्छ ।’’जानकी गाउँपालिकाले गतवर्ष माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा हरेक वडाका १०-१० किसानलाई माटो परीक्षण कार्ड उपलब्ध गराएको थियो । यस वर्ष पालिकामा दुई सय ६२ किसानले माटो परीक्षण कार्ड बनाएका छन् ।

‘‘किसानमा माटो सुधार गर्नुपर्छ भन्ने जनचेतना बढाउन र माटो सुधार गरी उत्पादन र वातावरणमा नै सुधार गर्न पालिकाले लगानी बढाएको हो’’, उनले भने, ‘‘पालिकाले किसानलाई सचेत बनाउन यस वर्षबाट एकीकृत किट व्यवस्थापनका लागि आकस्मिक बाली संरक्षण सेवा पनि हरेक वडामा दिएको छ ।’’माटो परीक्षण गराएर किसानले काम गर्दा एकातिर माटोको स्वास्थ्य राम्रो हुने र अर्कातिर किसानले लगाएको बालीको फसल पनि राम्रो हुने विज्ञहरुको सुझाव छ ।

माटो विज्ञ श्रीप्रसाद विष्ट माटो स्वस्थ भएपछि विश्व नै स्वस्थ हुने भएकाले माटो सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिन्छन् । ‘‘अधिकांश जीवित प्राणीको गाँस र बास स्थान भनेको नै माटो हो’’, उनी भन्छन्, ‘‘माटो नै स्वस्थ भएन भने धेरै क्षेत्रमा समस्या आउने गर्छ । त्यसैले माटो र वातावरण जोगाउने जिम्मा सबैले लिनुपर्छ ।’’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *