‘ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या’

डिसी नेपाल
२५ असार २०८२ १६:४३
116
Shares

काठमाडौं । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ। जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ।

विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो। सोमबारदेखि मङ्गलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ।

विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भू–भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशङ्का रहेको बताए।

‘भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लाग्यो। अब चाहिँ के कारण गएको भनेर हामीले अध्यायन गरिरहेका छौं’, उनले भने, ‘कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू–उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो। तर बादलका कारण अझै समस्या देखिएको छ।’

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.