शरण माग्न आएका १४ लाख अफगानी नागरिकलाई जबरजस्ती देशनिकाला

डिसी नेपाल
२ साउन २०८२ १५:३९
760
Shares

काठमाडौं । २०२५ को जनवरीदेखि यता इरानबाट १४ लाखभन्दा बढी अफगानीहरूलाई जबरजस्ती निष्कासन गरिएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीका अनुसार, इरान-अफगानिस्तान सीमामा हरेक दिन लगभग २० हजार अफगानी शरणार्थीहरूलाई जबरजस्ती फिर्ता पठाइँदैछ।

गत महिना इरान र इजरायलबीच भएको १२ दिने युद्धपछि यो प्रवृत्ति तीव्र गतिमा बढेको छ । इरानले २४ जुनदेखि ९ जुलाईको बीचमा अर्थात् केवल १६ दिनमा ५ लाखभन्दा बढी अफगानी नागरिकलाई देशबाट निष्कासन गर्‍यो।

इरानले मार्च २०२५ मा अवैध अफगानी आप्रवासीहरूले जुलाई ६ सम्ममा देश छोड्नुपर्ने, अन्यथा उनीहरूलाई जबरजस्ती निष्कासन गरिने घोषणा गर्‍यो। इरानी अधिकारीहरूले अफगानहरू इजरायल र अमेरिकाका लागि जासुसी, आतंकवादी हमला र ड्रोन बनाउने काममा संलग्न रहेको दाबी गरे।

धेरै अफगानीहरूले मिडियालाई बताएअनुसार उनीहरूलाई कुटपिट गरिएको थियो र उनीहरूको पैसा खोसिएको थियो। साथै, धेरै नाबालिग बालबालिकाहरूलाई कुनै पनि अभिभावकबिना अफगानिस्तान पठाइएको थियो।

मानिसहरूले न्यु योर्क टाइम्सलाई भनेअनुसार उनीहरूसँग न त पर्याप्त सामान छ न भविष्यको लागि कुनै आशा छ। ४२ वर्षदेखि इरानमा मजदुरको रूपमा काम गर्दै आएका मोहम्मद अखुन्दजादाले भने, “मैले इरानमा ४२ वर्ष कडा परिश्रम गरें, मेरो घुँडा भाँचियो र अब मैले के पाएँ?”

इरानबाट निर्वासित अफगानी शरणार्थी बशीरले मिडियासँग कुरा गर्दै बताएअनुसार अधिकारीहरूले उनीसँग १७ हजार रुपैयाँ मागेका थिए। त्यसपछि उनलाई दुई दिनसम्म हिरासत केन्द्रमा राखिएको थियो। यस अवधिमा उनलाई खाना वा पानी दिइएन। बशीरका अनुसार अधिकारीहरूले उनलाई दुर्व्यवहार गर्थे।

अर्का एक युवाका अनुसार उनका बुबालाई जासुसीको आरोपमा पक्राउ गरी जेल हालिएको थियो। उनलाई खाना र पानी दिइएको थिएन र पछि हिरासतमा लिएर अफगानिस्तान पठाइएको थियो।

द गार्डियनसँग कुरा गर्दै एक अफगानी महिलाले भनिन् ‘इरानी अधिकारीहरू राति आए। उनीहरूले हामीलाई बच्चाहरूको लुगा पनि लिन दिएनन्। उनीहरूले हामीलाई फोहोर जस्तै फ्याँकिदिए। बाटोमा, उनीहरूले बैंक कार्डबाट पैसा निकाले। उनीहरूले पानीको बोतलको लागि ८० रुपैयाँ र स्यान्डविचको लागि १७० रुपैयाँ लिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.