किताबको बिक्री,लेखकको खुसी
किताबको बुहुनी हुँदा लेखकको खुसी अनुहारमा झल्किन्छ। यो साधनाको प्रतिफल हो। यसमा लेखकसँगै प्रकाशकको खुसी पनि जोडिन्छ। वास्तवमा लेखकको खुसी भन्नु साधनाको प्रतिफल नै हो।
किताबको ‘बिक्री’ वा ‘बुहुनी’ आर्थिक कारोबार होइन, त्यो लेखकको श्रम, सपना र मनको अभिव्यक्ति बिक्री हुनु पनि हो। यसले पाठक र लेखकबीचको आत्मीय संवादको सुरुवात गर्छ। यही सुमधुर अनुभूतिको छायामा म यहाँ एक लेखक आफ्ना अव्यक्त खुसीहरू व्यक्त गर्ने चेष्टामा छु।
वास्तवमा एउटा किताबको पहिलो बुहुनी यौटा लेखकका लागि हर्षाश्रु र आत्मदर्शनको सुनौलो क्षण हो। किताबको बुहुनी, शब्द र सपनाको यात्राले लेखकीय मनलाई स्वतः उल्लासमय अनुभूतिको आकाशमा उडाउन थाल्छ। म पनि हावासँग कावा खाँदै धरतीमाथि, बादलमाथि उड्दै जान्छु। घुम्दै हेर्छु, रमाउँदै नयाँ अनुभव सँगाल्छु।
किताब कागजका पानाहरूको सिंगो रूप मात्र होइन। यो त भावनाको सागर हो। ज्ञानको खजाना हो। सपनाहरूको पुलिन्दा हो। नयाँ किताब बजारमा आउदा त्यो लेखकको वर्षौँको साधना, प्रकाशकको लगानी र सम्पादनदेखि लिएर छपाइसम्मका अनगन्ती प्रक्रियाहरूको प्रतिफल हुन्छ। तर, जब त्यो किताबले ‘बुहुनी’ अर्थात् बिक्रीको बाटो समात्छ, तब मात्र यसले आफ्नो वास्तविक गन्तव्य प्राप्त गर्छ।
किताबको बुहनी हुनु भनेको आर्थिक कारोबार मात्र होइन। शब्दहरूले यात्रा थालेको, विचारहरूले पाठकको मनमा प्रवेश पाएको र सपनाहरूले नयाँ जीवन पाएको एउटा उत्सव पनि हो।
एउटा लेखकका लागि, किताबको बुहुनी हुनु आफ्ना अक्षरहरूले नयाँ पाठक भेट्टाएको अनुभूति हो। म कल्पना गर्छु, वर्षौँ लगाएर लेखिएको र बल्लतल्ल छापिएको एउटा कृति ! यसका हरेक पात्र लेखकको मानसपटलमा जीवित थिए। यस्ता हरेक घटनाले लेखकको निद्रा खोसेका थिए।
समाजका गहिरा यथार्थहरू केलाउँदै लेखिएको किताब थियो। त्यसले लेखकका आफ्नै विचार र दर्शनलाई प्रस्तुत गरेको थियो। यी सिर्जनाहरू पाठकको हातमा पुग्दा लेखकको मनमा असीमित खुसी र सन्तुष्टि छाउँनु स्वाभाकि हो।
मजस्तो एकजना इमानदार लेखकका लागि यो खुसी भौतिक लाभभन्दा धेरै माथि हुन्छ। यो आफ्नो आत्माको एउटा अंशलाई पाठकको मनसम्म पु¥याउन सकेको आत्मसन्तुष्टि हो। कुनै पाठकले किताबको प्रशंसा गर्दा, कुनै समीक्षामा लेखकका शब्दहरूले पाठकको मन छोएको उल्लेख हुन्छ।
लेखकले आफ्नो साधनाको वास्तविक प्रतिफल प्राप्त गर्छ। यो खुसीले उसलाई लेख्न ऊर्जा थपिदिन्छ। यसले अझ गहिरिएर सोँच्न र नयाँ विचारहरूलाई जन्म दिन प्रेरित गर्छ। हरेक बिक्री भएको प्रतिले लेखकलाई ‘तिमी सही बाटोमा छौ’ भनी हौसला दिन्छ। फलतः उसको साहित्यिक यात्रालाई निरन्तरता दिने ऊर्जा प्रदान गर्छ।
लेखक जस्तै, प्रकाशकका लागि पनि किताबको बुहुनी हुनु ठूलो खुसीको कुरा हो। प्रकाशकले एउटा किताबमा लेखकको प्रतिभामाथि विश्वास गर्छ। त्यसपछि त्यसको सम्भावनामा लगानी गर्छ।
पाण्डुलिपिलाई पुस्तकको आकार दिन, त्यसलाई बजारसम्म र पाठकका हातमा पु¥याउन प्रकाशकले अनेकौँ चुनौतीहरू पार गर्नुपर्छ। किताबको ‘डिजाइन’ देखि ‘मार्केटिङ’ सम्म, हरेक चरणमा प्रकाशकको पनि लगानी जोडिएको हुन्छ।
यद्यपि कुनै किताबले राम्रो बिक्री पाउँदा प्रकाशकलाई आफ्नो व्यावसायिक निर्णय सही भएकोमा गर्व महसुस हुन्छ। यो खुसीले उसलाई नयाँ लेखकहरूलाई अवसर दिन, गुणस्तरीय साहित्य प्रकाशन गर्न र नेपाली वा कुनै पनि साहित्य बजारलाई समृद्ध बनाउन थप उत्साह प्राप्त हुन्छ।
किताबको राम्रो बिक्रीले प्रकाशकलाई आर्थिक रूपमा मात्र बलियो बनाउँदैन, यसले उसलाई साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकोमा आत्मसन्तुष्टि पनि दिन्छ। हरेक सफल किताबको बिक्रीले प्रकाशक र लेखकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। भविष्यका लागि नयाँ सम्भावनाका ढोकाहरू खोल्छ।
किताबको बुहुनी ‘बिक्री’ मात्र नभएर यो भावनात्मक र आत्मिक सन्तुष्टिको एउटा गहिरो अनुभव हो। यो एउटा यस्तो चक्र हो, जहाँ लेखकका अक्षरहरू, प्रकाशकको विश्वास र पाठकको प्रेम एकार्कासँग जोडिएका हुन्छन्।
किताबको बिक्री हुँदा, लेखक र प्रकाशकको मनमा जुन खुसी छाउँछ, त्यो कुनै भौतिक लाभभन्दा कैयौँ गुणा अमूल्य हुन्छ। किनकि यो खुसीले शब्दहरूको शक्ति, विचारहरूको प्रसार र सिर्जनाको अनन्त यात्रालाई प्रमाणित गर्छ। एउटा किताबको प्रत्येक बिक्रीसँगै, लेखकका सपनाहरूले पखेटा पाएर उड्न पाउँछन्। प्रकाशकको मेहनतले सार्थकता प्राप्त गर्छ। यसले साहित्यको जगलाई अझ बलियो बनाउँछ।
किताबको पहिलो ग्राहक, त्यो लेखकका लागि ‘देवता’ बराबर हुन्छ। त्यस्तै समीक्षक पनि लेखकका निम्ति ‘अर्को देवता’ नै हुन्। किनकि उसले लेखकको मौन आवाजलाई सुनेको हुन्छ, उसले लेखकको पाना-पानाका आँसुहरू पढेको हुन्छ। त्यही ग्राहकको हातले जब त्यो आवरण स्पर्श गर्छ। लेखकको मनभित्रको मन्दिरमा एउटा दियो बल्छ- एक थोपो उज्यालो, एक थोपो आस्था !
लेखकको खुसी ‘बिक्री’ मा होइन, त्यो त ‘स्वीकृति’ मा हुन्छ। कसैले मेरो अनुभूतिमा आँखाले हेरिदियो, मनले महसुस गरिदियो। मेरो मौन आवाजलाई पढिदियो। कसैले त मेरो अनुभूतिलाई आफ्ना आँखाबाट हेर्नेछ, कसैले त मेरा चोटहरूमा आफ्ना औँलाहरूले सहानुभूतिको स्पर्श दिनेछ।
त्यही बेला प्रकाशकको अनुहारमा पनि सन्तोषको उज्यालो फैलिन्छ। पाना मात्र बेचिएको होइन, सम्भावनाको यात्रा सुरु भएको हो।
पुस्तकको आवरण, त्यसका मुद्रित प्रति, लिखित हरफ, ढाँचाबद्ध पृष्ठहरू- सबैमा उसले पसिना बगाएको हुन्छ। बुहुनी पश्चात् अब त्यस पसिनालाई कसैले सम्मान दिएको हुन्छ। हुन त लेखन ‘कमाइ धन्दा’ को ‘काम’ हुँदै होइन। बुहुनीले वा बिक्रीले लेखकको पेटपाला हुन सक्दैन। हाम्रोजस्तो देशमा लेखक हुनु भनेको ‘स्वान्तसुखाय’ शिवाय अर्थोक केही होइन। त्यसमाथि म एउटा लेखक आफ्नो किताब ‘बेचेर’ खानेभन्दा ‘बाँडेर’ सन्तुष्टि लिने मान्छे !
कहिलेकाहीँ किताब बेचिनु एउटा सानो खबर लाग्न सक्छ। तर, त्यो खबर लेखकको अन्तरात्मामा जुन हुरी ल्याउँछ, त्यो बाहिरको आँधीभन्दा पनि बलियो हुन्छ।
किताब बिक्नु भनेको, लेखकका सपनालाई अरूको मनमा टेक्न दिने अनुमति पाउनु हो।
जसरी आकाशमा एक चरा भुर्र उड्छ। उसको उडानलाई हेरेर अर्का चराको मुटु पनि धड्किन्छ- त्यस्तै हो, किताबको यात्रा पनि। अरूको बिक्री भएको देखेर ईष्र्या होइन खुसीको भाव जाग्छ। त्यो पहिलो बुहुनीपछि लेखकको मन आँखा चिम्लेर सोँच्छ– ‘अब मेरा शब्दहरू एक्ला रहेनन्, उनीहरू कसैको हृदयमा पसे, कसैको जीवनसँग गाँसिए। अब कसैले त पढिदिने भयो…!’
त्यो पलमा लेखकलाई शब्द होइन, शब्दपारिको मौनताले पनि धन्यवाद दिन थाल्छ। किताबको बुहुनी अर्थात् एकजना पाठकले एउटा लेखकलाई ‘म तिमीलाई पढिरहेको छु’ भन्नु हो। त्यो सबभन्दा ठूलो पुरस्कार हो- जसले कलमलाई अझ ऊर्जामय बनाउँछ।
‘किताबको बुहुनी’ कुनै पसलको हिसाब-किताब मात्र होइन, त्यो लेखक र पाठकबीचको पहिलो आत्मीय हात मिलाउने क्षण हो। त्यहाँ शब्दहरू ‘बजारका वस्तु’ होइनन्, ‘जीवनका स्पन्दन’ बन्छन्। खुसीका पल बन्छन्। स्मृतिका ‘अभिलेख’ हुन्छन्।
अरूका लागि सामान्य ठहरिएला। तर, यौटा लेखकका लागि ‘प्रथम बुहुनी’ यति ठूलो लेखनकै विषय बन्छ। किनभने ‘किताबको बुहुनी लेखकको खुसी’ शीर्षकमा यसरी निबन्ध लेखिन्छ।
















Facebook Comment