भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

डिसी नेपाल
८ साउन २०८२ १२:३७
8
Shares

झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ। वि.सं. २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो।

आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ। आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ।

झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो। भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।

विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो। लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। वि.सं. २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए।

भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *