रुसी विमानमा सवार सबैको मृत्यु
मस्को। रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ।
सोभियत संघमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जंगलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन्।
सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै संकेत नपाइएको देखाइएको छ।
अंगारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कबिच्छेद भएको थियो।
एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जंगली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो।
रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जङ्गलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ।
सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन।
अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन्।







डिसी नेपाल







Facebook Comment