सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

डिसी नेपाल
१३ साउन २०८२ २०:५८
36
Shares

गण्डकी। सडक, पुल, नाला, चौतारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइमा यहाँका स्थानीयवासी जुटेका छन् । ‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रूपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर बागलुङको गलकोट नगरपालिकामा सरसफाइ अभियान चलाएका हुन्।

गत असार ७ गतेदेखि हरेक शनिबार विभिन्न ठाउँमा पुगेर सरसफाइसहित सचेतनामूलक कार्यक्रम गर्ने गरिएको उक्त अभियानका संयोजक दीपक शर्मा पौडेलले बताए। असार पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरिएको उनले जानकारी दिए।

दास्रो शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट ३, ५ र ७ को सङ्गमस्थलमा रहेको दरमखोला पुल सरसफाइ गरिएको थियो। तेस्रो शनिबार मध्यपहाडी लोकमार्गमै पर्ने गलकोट–२ नरेठाँटीको पुल, चौथो शनिबार गलकोट–३ रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको संयोजक पौडेलले बताए।

गत शनिबार रजरा चौतारोको सौन्दर्यीकरणका लागि विभिन्न रुख र फूलका बिरुवा रोपिएको उहाँको भनाइ छ। ‘निर्माण भएको वर्षौं बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा पुलमा कुरूप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो’, संयोजक पौडेलले भने, ‘सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ।’ ठूलो लगानी गरेर रजराको चौतारो पुनर्निर्माण गरिएपनि रेखदेख नहुँदा जीर्ण बन्ने देखिएपछि सरसफाइ र वृक्षरोपण गरिएको उनको भनाइ छ।

सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने संयोजक पौडेलले बताए। घरबाटै कुटोकोदालो, गैँती, बेल्चाजस्ता औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका हुन्। उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, हटिया शाखाका अध्यक्ष नवराज गौतम, गलकोट बहुमुखी क्याम्पसका प्रध्यापनरत खिमनाथ गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय छन्।

संयोजक पौडेल पनि शिक्षण पेसामा सक्रिय छन्। सुरूमा पाँच जनाबाट सुरू भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध भएका छन्। हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ। सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान सुरू गरिएको संयोजक पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.