इतिहास ब्यूँताएको ललितपुरको अग्निसेवा : अत्याधुनिकदेखि १०६ बर्षे यन्त्रको रोचक सेवा

डिसी नेपाल
१५ साउन २०८२ १३:१९
64
Shares

ललितपुर। ललितपुरका पूराना गल्लीबाट चर्को स्वरमा साइरन बज्दै गर्दा मान्छे मात्र होइन शहरको मुटु नै धड्किन थाल्छ। त्यो आवाज आम मानिसलाई त्रासलाग्दो बन्नसक्छ। तर ललितपुर महानगरको दमकल टोलीका लागि त्यो कर्तव्यको आह्वान हो।

यही टोलीको अगुवाइ गर्दै आएका छन् कमाण्डर राजकुमार ठकुरी। जसले इतिहास जोगाउँदै, आधुनिकतासँग पाइला मिलाउँदै यो सेवा सञ्चालन गरिरहेका छन्। १०६ बर्षे इतिहास बोकेको दमकल कार्यालयको शिरमा लेखिएको छ-‘जुद्ध बारुण यन्त्र।’

धेरैलाई थाहा नहुन सक्छ, यो नाम जुद्ध शम्सेर राणाको पालामा स्थापना भएको संस्था हो। सन् २००१ सालमा, आगलागी नियन्त्रणको कल्पनासमेत कठिन मानिने बेला, दमकलको स्थापना भएको थियो। आज, सोही दमकल इतिहासको गाथा मात्र होइन, जीवनरक्षक सेवा पनि बनेको छ।

कमाण्डर ठकुरीका अनुसार, अहिले कार्यालयमा पाँचवटा दमकल ट्रक छन। तीमध्ये तीनवटा ठूला फायर ट्रक, एक वटा पानी ट्यांकर, र दुई वटा मिनी दमकल ट्रक छन्। ती दमकलमा २५०० लिटर पानी र ३०० लिटर केमिकल फोम अट्छ।

अहिले त झन ललितपुर महानगरमा दुईवटा अत्याधुनिक जापानी फायर ट्रक पनि आएका छन् – जो एकैचोटि आधुनिकता, गति, र सुरक्षा लिएर आएका छन्। ती ट्रकले एक मिनेटमा टावर जत्रो अग्लो भवनमाथि पनि पानी फाल्न सक्छन्।

तर, सबैभन्दा अनौठो कथा छ – १०६ वर्ष पुरानो दमकलको, जुन अझै जिउँदो छ। ‘मान्छे मर्छन्, तर तिनीहरूले बनाएका संरचनाले इतिहास बाँचिरहन्छ,’ कमाण्डर ठकुरी भन्छन्।

यो पुरानो दमकल झम्सिखेलस्थित महानगर प्रहरी कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। पहिलेचोटि चल्न सकेको यो दमकल अहिले फेरि पुनःनिर्माण गरेर तयारी अवस्थामा राखिएको छ। कतिपय पर्यटक र स्थानीय यो ऐतिहासिक यन्त्र हेर्न आउँछन्।अब त महानगरले यो दमकललाई म्युजियममा राख्ने योजना पनि बनाएको छ।

‘हामीलाई आगलागीको खबर आयो भने दुई मिनेटमै तयार हुन्छौं,’ कमाण्डर ठकुरी गर्वका साथ भन्छन्। यद्यपि, सवारी चाप कहिले काहीं चुनौती बन्न सक्छ, तर टीम जतिसक्दो छिटो घटना स्थलमा पुग्ने प्रयास गर्छ।

अहिलेसम्म १५० भन्दा बढी आगलागीका घटनामा दमकल, नगर प्रहरी र एम्बुलेन्स एकैसाथ परिचालन भइसकेका छन्। जुनसुकै वेला विपत आए पनि, यो टोली सिर्जनशीलता, समर्पण र गति लिएर पुग्छ।

यसरी हेर्दा, ललितपुरको दमकल सेवा केवल आगो निभाउने यन्त्र मात्र होइन, यो इतिहास, सेवा र समर्पणको प्रतीक बनेको छ, जसले समयको परिवर्तनसँगै आफैलाई परिष्कृत गर्दै आधुनिक अग्निशमन प्रणालीमा रूपान्तरण गरेको छ। पुरानो दमकल गत बर्ष नै पुनः सञ्चालनमा ल्याइएको थियो।

काम नगर्ने अवस्थाको दमकल मर्मत पश्चात् पूर्णरूपमा पुनः प्रयोग गर्नेगरि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनबाट डेमो देखाइ सुभारम्भ गरेका थिए। इतिहास बोकेको उक्त डेनिस दमकलसहित अन्य आधुनिक दमकलमार्फत ललितपुर महानगरले सेवा प्रदान गरिरहेको छ। २५ तलासम्म आगो निभाउन सक्ने दुईवटा नयाँ दकमल पाँच करोड ६५ लाख रुपैयाँमा इजुसी कम्पनीबाट खरिद गरिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.