चितवनलाई विकासको मोडल बनाइने प्रचण्डको भनाई

डिसी नेपाल
१८ भदौ २०७६ १९:३९

चितवन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको मोडल बनाउन लागेको बताएका छन्। बुधबार चितवनको भरतपुरमा भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चितवनमा हुने विकास प्रक्रिया देशको अन्य शहरमा पनि लागु गर्न सक्ने गरि विकास मोडल बनाउन खोजेको बताए ।

विकासको मोडल तयार गरेर सरकारलाई सघाउने आफ्नो जिम्मेवारी पनि रहेको बताए। अध्यक्ष प्रचण्डले देशको केन्द्र र काठमाडौँको बैकल्पिक शहरको रुपमा चितवनलाई हेरिएको हुँदा यसको विकास आफ्नो जिम्मेवारी भित्र रहेको पनि बताए।

यता कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भने भरतपुर विमानस्थलको बिस्तारको लागि अध्यक्ष प्रचण्डको साथ चाहिएको बताएका छन्। भरतपुर विमानस्थलको विस्तारका लागि विमानस्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजजन केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले अध्यक्ष प्रचण्डको साथ खोजेका हुन्।

सेनाले चर्चेको जग्गा विमानस्थलको बिस्तारमा आवश्यक पर्ने भन्दै मन्त्री भट्टराईले रक्षामन्त्री, प्रधानसेनापति र पर्यटन मन्त्रालयको संयुक्त बैठक राखिदिन पनि अनुरोध गरे। एक हप्ता भित्र बैठक बस्न सके भरतपुर विमानस्थलको लागि फेरी बैठक बस्न आवश्यक नरहेको बताए।

करिब एक साता अघि चितवन आएका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए। बुधबार मन्त्रीकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार सर्वदलिय बैठक आयोजना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *