मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल
काठमाडौं। प्रेस चौतारी नेपालको आयोजनामा आज सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सिल विधेयकमाथि छलफल भएको छ।
सञ्चार मन्त्री गुरुङले छलफलमा उठेका प्रश्नहरुको सम्बोधन गर्दै प्रेस स्वतन्त्रता र स्वायत्तताप्रति विधेयक संवेदनशील हुने बताए। उनले सो विधेयकलाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्नरत रहेको उल्लेख गरे।
छलफलमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाँउलेले मिडिया काउन्सिल विधेयकले पत्रकारलाई आचारसंहितामा रहन र पत्रकारको गुनासो सुन्ने निकायको रुपमा स्थापित गर्न आग्रह गरे। बेलायतको प्रेस काउन्सिलको संरचनागत अभ्यासको उदाहरण दिदैँ उनले राज्य र पत्रकारबिचको सन्तुलन कायम गर्न पनि सो विधेयकको संरचना स्वायत्त हुनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डितले मिडिया काउन्सिल पत्रकारको न्यायलय जस्तै हुने भएकाले यसको मर्यादित भन्दा स्वनियमनमा अभिप्रेरित गर्नुपर्ने धारणा राखे। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारका लागि बनाउन लागिएको विधेयकलाई पत्रकारले अपनत्व लिने किसिमको बनाउनुपर्नेमा जोड दिए।
छलफलमा प्रेस चौतारीका महासचिव हिरामान लामा, पुर्व अध्यक्षहरु, गणेश बस्नेत, राजेन्द्र अर्याल, सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलगायतको उपस्थिति थियो।
यसैबीच आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० लाई आमसञ्चार परिषद् विधेयक नामकरण गर्नेमा सहमति भएको उल्लेख गरेका छन्।







डिसी नेपाल








Facebook Comment