सात किशोरीको उद्धार

डिसी नेपाल
१७ साउन २०८२ १२:०९
40
Shares

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ।

ती किशोरीहरूलाई भारत पुर्‍याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए।

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ।

किशोरीलाई भारत पुर्‍याउने अभियुक्तमध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्।

अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पुर्‍याएका थिए। किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए।

उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *