लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

डिसी नेपाल
१७ साउन २०८२ १२:२७
100
Shares

चितवन । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ। सो स्थानमा अमलेखगञ्जलोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ। चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा १५ अर्ब रुपैयाँ लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ।

आयल निगमले १० अर्ब र इन्डियन आयल कर्पोरेशनले पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो। जग्गा खरिदमा ६० करोड खर्च भइसकेको छ भने १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो। ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो। वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो। तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ।

सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन्। यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ।

वडा अध्यक्ष सिद्धिलाल स्याङतानले भण्डारण गृह बनेसँगै पूर्वी चितवन बाढीबाट सुरक्षित हुने बताए।

दैनिक पाँच सयभन्दा बढी ट्याङ्कर ओहोरदोहोर गर्ने भएकाले यहाँका सानातिना होटल, रेष्टुरेन्ट, लजलाई फाइदा पुग्ने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.