२ लाख रुपैयाँसहित रविन्द्र ढाँटलाई काठमाडौं महानगरले गर्‍याे सम्मान

डिसी नेपाल
२७ साउन २०८२ १८:०२
204
Shares

काठमाडौं।काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ।

खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।

उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए। कार्यक्रममा केसीले भने, ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ।’

नेपालका रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। सम्मान ग्रहणपछि ढाँटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु। यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ।’

त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय ब्यहोरेको थियो।

खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे। उनले भने, ‘हामी खो–खो खेलमा जाँदा जस्तो उत्साह थियो, त्यस्तै उत्साह अहिले काठमाडौं महानगरपालिकाले सम्मान कार्यक्रम गरेर थपिदिएको छ। हामी खेलाडीको तर्फबाट यो सम्मानले निकै खुशी लागेको छ। गुरुहरू र सबैलाई धन्यवाद दिन चाहन्छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *