कविता : प्रेमको पश्चाताप

शंकरप्रसाद रिजाल
३१ साउन २०८२ ७:४२
112
Shares

ओहो कस्तो प्रेमको बीचमा म पर्न आएँ
जसले मनलाई जलाउँछ र सताउँछ
सम्झेर मैले तिमीलाई के पाएँ
खुसी सबै लुटिगयो चैन दिलको गुमाएँ।

यो जीवनमा तिमीसँग भयो कति कुरा
आज सब भएका कुरा मनमा बन्यो छुरा
कहाँ छ्यौ तिमी फेरि एक पटक भेट्नपाउँ
लुकेका मन भित्रका कुरा म पोख्न पाउँ।

कति आँसु बगाएँ रोइ जीवन बिताएँ
कुनै छैन हिसाब अब तिमीबीच आएँ
मेरा हर खुसी तिम्रो श्वासमा छ
मेरो आखिरी श्वास तिम्रै काखमा छ।

बोकी हिँड्छु सधैं तिम्रो मायाका ती सम्झना
मनमा उठ्छ तिम्रै बारेमा हजार फेरि तर्कना
तर्कना आगोमा पर्दा आगो दनदन जल्दछ
भित्रको प्रेमको पर्दामा आगो दनन बल्दछ।

सूर्यले चन्द्र कुरेझैं म कुरेको छु हरदिन
चन्द्रदेखि सूर्य टाढा म त्यो हेर्न सक्दिन
आकासमाथि आउँ कि म तिमीलाई समाउन
पृथ्वी तलका सबै बगैंचा तिमीलाई घुमाउन।

जटा फिजाई बादलको लुकेकी छ्यौ कतै कतै
त्यो बादल पारिको लोकमा बसेकी छौ कतै यतै
अन्धोले झैं म हेरी बस्छु यत्रो ठूलो आकासमा
उभिएको छु शिखरमा तिम्रो प्रेमको त्यो खोजमा।

जीवनभरी म कुर्नेछु पश्चाताप नगरीकन
आउने छ्यौ कि तिमी भन्दै यो लामो परखाइमा
आएन कहिलै पहिले रहँदा ती ज्ञान
अब भयो सब जीवन निशा समान।

न तिम्रो भक्ति भो न भो बिबेक
आखिर प्रेम तिमी रहिछ्यौ एक
आखिर प्रेम तिमी रहिछ्यौ एक।

प्रेमको बिछोड

स्वर्ग हल्लाउने प्रेम थियो हामीहरुको बीचमा
त्यो कसरी टुट्न गयो हाम्रो दुइको नजिकमा
खोइ तिम्रो सिन्दुरको रेखा धर्सा सबै पुछिसके
खोइ मेरो फूलको माला धागा सबै चुँडी सके।

छोटो समयमै हाम्रो प्रेमको बिछोड कसरी भयो
राम्रो नराम्रो जे थियो त्यो आज मनभित्र रह्यो
सँगै कति हिँड्थ्यौं हामी अँगालो मारी मारीकन
कति बसिन्थ्यो हामी मिठा मिठा कुरा गरीकन।

कहिलेकाहीँ एकैसाथ हाँस्थ्यिो मिठो मुस्कानमा
ओठ दुईको मिलाउँथ्यौं जबर्जस्त मनमहाँ
घुम्ने डुल्ने सँगै खाने हुन्थ्यो हाम्रो जीवनमा
आज के भयो कुन्नि हाम्रो यो प्रेमको मिलनमा।

प्रेमको मिलनमा जीवनको आनन्द झल्किन्छ
बिछोडमा हेर यही जीवनको घडी कति दगुर्दछ
प्रेमको मिलनको जीवनमा ईश्वर हाँसी बस्दछन्
प्रेमको बिछोडमा भित्र आत्मा रोइ बस्दछन्।

प्रेम यस भूलोकमा छोड बिछोडमा छटपटाउँछ
प्रेमी प्रेमिकाको आँखाबाट एकैसाथ आँसु बग्दछ
पवित्र प्रेममा दुवैको यस्तो हुँदैन कहिले बिछोड
अपवित्र मोहको जालमा क्षणिक छन् सबै संयोग।

झुठो प्रेम

प्रेमको झुठो कहानी आज रोइ रहेछ
चोटले आज जीवन रोगी बनी रहेछ
होला यस्तो भन्ने सोच्नै सकेको थिइन
अजब गजबको जीवन यो देखेको थिइन।

झुठो प्रेम कसको छ रमाइलो भएको
एकान्तमा बसने अब मन यो रहेको
झुठो प्रेम झुठो बास्ना एकैनास सधैंभरी
सबै झुठो सबै तितो धोका छन् दुबैथरी।

प्रेममा गुलाब फक्रिन्छ धोकामा सुकेसरी
प्रेममा आत्मियता बढ्छ धोकामा सुतेसरी
प्रेम मिलनको बाटो हुन्छ त्यो मनमोहक
प्रेम बिछोडको बाटो हुन्छ त्यो मनमर्कट।

गरेको प्रेमको बाचा कहाँ अमर हुन्छ र
मरेको प्रेमको लाश कहाँ जुरुक्क उठ्छ र
बाले प्रेमको बत्ती उज्यालो जगमगाउँछ
निभाए प्रेमको दियो निशा उठ्दै आउँछ।

खुसीले गद्गद् हुन्छ सच्चा प्रेमको मिलनमा
चिन्ता मनमा उर्लिन्छ झुठा प्रेमको बिछोडमा
प्रेमको मिलनमा आशा उमंग बढ्दछ
झुठो यो संसारमा सबैको जीवन बित्दछ।

प्रेमको आभा डुब्छ जीवन सूर्यास्त बन्दछ
अश्ताचलमा सबै सूर्य डुबेसरी डुब्दछ
प्रेमको मिलनमा हेर श्री कृष्णको जीवन
राधाको बिछोडमा हेर गोकुल फर्किने दिन।

शिव रोएथे प्रेमैमा पत्निको लाश बोकदै
राम घुमेथे जंगलमा सीताजीपनि खोजदै
को झुक्दैन यो संसारमा प्रेमको पछि लागदै
को रुंँदैनन् संसारमा प्रेमको बिछोड सम्झँदै।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *