सर्लाहीमा रामपुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ

डिसी नेपाल
३ भदौ २०८२ ७:४५
128
Shares

सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा-५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादव पक्राउ परेका छन्।

प्रहरीका अनुसार हरिपुर्वा-६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा महोत्तरीको जानकी हेल्थ केयर लैजाँदै गर्दा मृत्यु भएको थियो।

गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ।

घटनास्थल र धिरेन्द्र बस्दै आएको मलंगवा-९ स्थित डेराबाट नलकटुवा पेस्तोल र गोलीको खोका बरामद भएको प्रहरीको भनाइ छ। जिल्ला अदालत सर्लाहीले उनलाई सात दिनको म्याद थप अनुमति दिएको छ।

धिरेन्द्र यसअघि पनि घातक अपराधमा संलग्न रहेका प्रहरीको दाबी छ। २०८१ असोज १० गते राति उनले आफ्नै घरमा श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली प्रहार गरी हत्या गरेका थिए।

सो घटनामा उनका बुबा राम दिनेश राय घाइते भएका थिए। त्यसयता फरार रहेका धिरेन्द्रविरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.