लघुकथा : जात

44
Shares

सुमन स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै घरभित्र छिर्‍याे।

“होइन, के भयो, किन हस्याङ्फस्याङ् गरेको सन्चो भएन कि कसो?” श्रीमती अताल्लिइन्।

“जत्ति सम्झाउँदा नि लागेन, साना जातसँग हिँड्नु हुँदैन भन्यो, फेरि उस्तै, अब हिँडिस् भने तेरा खुट्टा भाँचिदिन्छु। वरिपरि मुख देखाउन लाज भैसक्यो, अझै भनेको मान्दैनस् ।” सुमनले छोरालाई हकारे।

“घर, स्कुल जहाँ पनि तिनै छन्, बोल्नुभन्दा स्कुल नै फेरे के होला ?” श्रीमतीले सुझाइन्।

दुबैजना उसको घर पुगे र ठाडै प्रश्न गरे। ल सुन हर्के, ” तेरो छोरोले मेरो छोरो बिगार्‍याे, आइन्दा यिनीहरुलाई सँगै देखे भने राम्रो हुँदैन। भन्देछु फेरि, सम्झा राम्रोसँग।”

दुबैको चर्काचर्की चल्यो। “सानो जात भनेर हेपेका, आफ्नै छोरोलाई सम्झाउनु के साटो उल्टै थर्काउँदो रहेछ ?” हर्के रिसाउँदै जवाफ फर्कायो।

छोराहरू भने समय मिल्यो कि सँगै हुन्थे। उनीहरूको मित्रतामा कुनै कमी आएको थिएन, प्रगाढ थियो।

छोराकै कारणले दुबै परिवारमा बोलचाल बन्द भएको थियो। दुबैले आ-आफ्ना छोराको गतिविधि नियाल्दै थिए।

सुमन प्रलोभन देखाउँदै सम्झाए, “हर्केको छोरोसँग हिँड्न छोडिस् भने तँलाई बाइक किनिदिन्छु।”

त्यतिकैमा छोराले बाबाको भावमुहार पढ्दै भन्यो, “रगत सबैको रातो हुँदैन र, ब्लड बैंकले कहिल्यै जात सोधेर रगत लिएको छ, बाबा?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *