नाति पुस्ताको क्रान्ति र अबको गन्तव्य

शंकरप्रसाद रिजाल
२९ भदौ २०८२ १४:५८
184
Shares

अहिलेको जेनजी पुस्ताले हरेक परिस्थितिको अनुभव गरेको छ। माओवादी द्वन्द्व, प्रजातन्त्र, सक्रिय राजतन्त्र, गणतन्त्र हुँदै संघीयतााम प्रवेश गरेको देखेको अहिलेको जेनजी पुस्ताले विकास, सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणको अनुभव गर्न पाएनन्।

विश्वको अधिकांश गरिव मुलुकसमेत विकसित भइसक्दा नेपाल सधैं, गरिवी, भ्रष्टाचार र कुशासनको सिकार हुनुपर्‍यो। मुलुकबाट राजतन्त्रको अन्त्य पछि मौलाएको राजनीतिक छाडापनले युवापुस्तामा चरम निराशा पैदा भएको थियो।

नेता र उनका आसेपासले आम जनतालाई रैती ठान्ने, कर्मचारीको ढिलासुस्ती र बढ्दो महंगी तथा बेरोजगारीले वाक्क बनेको जेनजी पुस्ता अन्ततः सडकमा निस्किएर दुई दिनमै तख्तापलट गर्न सफल भए।

दक्षिण एसियाका विभिन्न मुलुकमा भएका सरकार विरोधी आन्दोलनलाई नजिकबाट नियाली रहेका जेनजी पुस्ता तत्काल परिणाम चाहन्छन्। उनीहरु श्रम गर्न तयार हुन्छन् र त्यसबापत विन्दास जीवन बिताउन चाहन्छन्। सूचना प्रविधिमा पोख्य यस्तो पुस्तालाई सरकारले केही पनि होइन भन्ने ढंगले जुन व्यवहार गर्‍यो, त्यसको परिणाम नेताहरुले अहिले भोगिरहेका छन्।

नाति पुस्ताका युवालाई सरकारले जसरी दमन गर्‍यो, त्यसबाट सत्ताको आँखा हुँदैन भन्ने युक्ति पुष्टि गर्‍यो। सरकार परिर्तन, भ्रष्टाचार नियन्त्रण तथा समाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनु पर्ने भन्दै जेनजी पुस्ता सडकमा शान्तिपूर्ण रुपमा उत्रिएका थिए। उनीहरुको माग पूरा गर्नुको साटो सरकारले उनीहरुमाथि गोली बर्साउन थालेपछि मुलुक यतिबेला शून्य अवस्थामा पुगेको छ।

यस्तो बेलामा मुलुक सम्हाल्ने जिम्मेवारी पूर्वप्रधानन्यायाधीशसमेत रहेका प्रधानमन्त्री सुशीला कार्कीको काँधमा आएको छ। हक्की र चुनौतीलाई अवसरका रुपमा लिन रुचाउने प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र चुनाव गराउनु त छँदैछ, त्यस अगाडि शून्यमा पुगेको मुलुकलाई उठाउनु पर्नेछ।

संसद भवनदेखि राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसम्मको निर्माण गर्नुपर्ने जिम्मेवारी कार्कीको काँधमा छ। नागरिक सरकार गठन भएपनि गाउँसम्म संगठन भएका राजनीतिक दलकोसमेत विश्वास जित्नुपर्ने बाध्यता पनि छ।

प्रमुख तीन दलको कांग्रेस, एमाले र माओवादीको मनोमानी, बाँचुन्जेल आफैंमात्रै नेतृत्व गर्ने उनीहरुको आशक्तिले आम मुलुक नराम्रो गरी ध्वस्त बन्न पुगेको छ। एउटा शासकको अहंकारले मुलुकलाई कसरी बिनास गर्छ भन्ने उदाहारण अहिले देखिएको छ।

आफू र आफ्ना आसेपासेको मात्रै चिन्ता गर्ने, देशका कर्णधार मानिएका युवापुस्ताको मतलव नगर्ने, गरिव जनताले आफ्नो दैनिकी चलाउन खाडीमा पसिना बगाउनु पर्ने, हुनेखानेले आफ्ना सन्तान विकसित मुलुक पठाउनु पर्ने र देश रेमिट्यान्सले चलाउने शासकको सोचले आज नातिपुस्ता परिवर्तनको संवाहक बनेका छन्।

हरेक ठाउँमा भ्रष्टाचार र कमशिसन खाने, आफूलाई ज्वरो आए विदेश उपचार गर्न जाने, तर गाउँमा जनताले बिरामी हुँदा सिटामोलसम्म नपाउने स्थितिले जनतामा चरम आक्रोश थियो।

प्रत्येक दिन अभाग र गरिवीसँग जुधिरहेका जनताले मुलुकमै रोजगारी सृजना होस्, शिक्षा र स्वास्थ्य निशुल्क होस् भन्ने चाहना राख्नुलाई अन्यथा मान्न सकिँदैन। तर सत्ताको चावी हातमा लिएर बसेका नेताहरुले यो कुरालाई कहिल्यै सोचेनन्।

उनीहरुलाई भूकम्प भएपनि मतलव भएन, विभिन्न प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुँदासमेत प्रवाह भए, मानौ जनता भनेका भेडाबाख्रा हुन्। यी सबै कुराबाट दिक्दार भएका जेनजी पुस्ताले जीवन हत्केलामा राखेर दुई दिनमै सत्ताधारीलाई भगाउन सफल भए।

केही राजनीतिक विश्लेषकहरुले मुलुकमा युवाहरुको आक्रोश बढिरहेको छ भन्दै यस्तै आन्दोलन हुने संकेत पनि गरेका थिए। तर सत्तामो मातले मस्त बनेका नेताहरुले त्यस विषयलाई गम्भीरता पूर्वक लिनुको साटो नेपाली जनताले त्यसो गर्न नसक्ने अभिव्यक्ति दिन्थे।

यतिबेला सामाजिक संजालमा नेताहरु भागेको, उनीहरुमाथि कुटपिट भएको भिडियो शेयर गरेर अझै नपुगेको प्रतिक्रिया दिइरहेका छन्। अर्थात जनताको आक्रोश अझै कम भएको छैन।

सरकार आन्दोलन सधैंको जस्तो होला र यसलाई सजिलैसँग दबाउन सकिन्छ भन्ने अल्प बुझाइमा रमायो। सरकारले आन्दोलन दबाउन अन्धाधुन्ध गोली चलाएर कलिला बाबुहरुको ज्यान पनि लिएकै हो।

आफूहरुमाथिको सरकारको निर्मम व्यवहार युवापुस्ताले सहन सकेनन् उनीहरुले विशाल ‘किङकङ’ को रुपमा प्रकट भएर सबै जसो नेताका विशास र आलिशान महललाई क्षणभरमै खरानीमा परिणत गरिदिए।

आन्दोलनका कारण मुलुकले खर्बौंको क्षति व्यवहोर्नु परेको छ। ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवासलगायत सरकारी भवन र निजी क्षेत्रमा ठूलो घाटा भएको छ। कहिले कतिपयले आन्दोलनमा घुसपैठ भएको आरोप लगाउन थालेका छन्। आक्रोशित युवाहरुले गरेको तोडफोडलाई फेरि हामीले घुसपैठ भएको भनेर बुझ्यौं भने अर्को भुल हुनेछ।

भदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले देशको सम्पत्ति जनाउने नेपाली हुन नसक्ने भन्दै त्यसमा संलग्नलाई कानुनी दायरमा ल्याउने संकेत गरिसकेकी छन्। ‘हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ। मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गर्ने र कारबाही गर्ने पनि बताइन्। ‘यसबारे अनुसन्धान हुन बाँकी छ । र, अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ।’

यसबाट उनी आफ्नो लक्ष्यमा दृढ देखिन्छिन्। अब उनलाई सबैले सहयोग गरेर वर्तमान अवस्थाबाट मुलुकलाई पार लगाउन पर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.