डेंगु रोग नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउन सरकारसँग माग

डिसी नेपाल
२२ भदौ २०७६ १४:०७

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ।

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेकी हुन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ७० हजार भन्दा बढी नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन्।

काँग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएको यस्ता विषयमा सरकार किन गम्भिर नभएको? भन्दै प्रश्न गरिन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति जनाइन्।

त्यसैगरी काँग्रेसका अर्का सांसद डिला संर्गौलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन। चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन्।

त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ। सांसद संग्र्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप लगाइन्।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए।

उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *