बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर

डिसी नेपाल
४ असोज २०८२ २३:३२
28
Shares

बैतडी। जेनजी पुस्ताको प्रदर्शनका क्रममा बैतडी कारागारबाट भागेका ६२ कैदीबन्दी तथा थुनुवामध्ये दुई जना मात्रै नियन्त्रण बाहिर रहेका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार फरारमध्ये हालसम्म ६० जना कारागार फर्किसकेका छन्।

गत भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर ६२ जना कैदीबन्दी तथा थुनुवा भागेका थिए। उनले भने, ‘फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरेर कारागारमा ल्याइएको छ। केही आफैँ सम्पर्कमा आएर कारागार फर्किएका हुन् भने चार जनालाई भारतबाट पक्राउ गरी ल्याएका हौँ।’

फरार रहेका दुई जनाको प्रहरीमार्फत खोजी कार्य जारी रहेको जिल्ला कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए। उनका अनुसार संयुक्त सुरक्षा टोली परिचालन गरेर फरार कैदीलाई खोज्ने कार्य भइरहेको हो।

जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको बन्दीगृहलाई व्यवस्थापन गर्ने कार्य भइरहेको कारागार कार्यालयले जनाएको छ। पच्चीस जना बस्ने क्षमता रहेको बन्दीगृहमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको प्रमुख भण्डारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *