सुधार गृहबाट भागेका ५० किशोर अझै भेटिएनन्
वीरगञ्ज (पर्सा) । पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार छन्। गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन्।
पर्साको बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए।
‘भदौ २४ गते राति बाल सुधारगृहबाट भागेकामध्ये ५० जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ’उनीहरुको अभिभावकसँग कुराकानी भएर खोजी तीव्र पारिरहेका छौँ।’
बाल सुधारगृह तोडफोड गरेर भाग्ने बेला सुधारगृहमा कूल १४२ जना रहेका थिए। तीमध्ये अहिले सुधारगृहमा ९० जना र भागेकामध्ये दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
पछिल्लो समय एक जना बालबिज्याइँ गरेर थप भएका छन्। ‘भदौ २४ को घटनापछि फरार रहेका १७ जनालाई पक्राउ गरिसकेका छौं। अन्य पनि छिट्टै आउने विश्वास लिएका छौँ’, उनले भने। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment