नेपाल–चीन वार्तामा के–के भयो?

डिसी नेपाल
२३ भदौ २०७६ २१:३३

काठमाडौं। सोमबार नेपाल र चीनबीच द्विपक्षीय वार्ता भयो। तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यी नेतृत्वको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गरेको प्रतिनिधिमण्डलबी भएको द्विपक्षी वार्ता उत्साहजनक रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिले संकेत गरेको छ।

यो उत्साह चिनियाँ राष्ट्रपति सि जिनपिङको निकट भविश्यमा हुने भनिएको नेपाल भ्रमणको विषयले पनि हो। द्विपक्षीय वार्तामा उच्च राजनीतिक भ्रमण आदानप्रदानका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। भनिएको छ, ‘दुबै पक्ष उच्चस्तरीय भ्रमण आदानप्रदान नियमित गर्न सहमत छन्।’

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको मिति नतोकिए पनि विदेशमन्त्री वाङको भ्रमण त्यसैको तयारीका लागि भएको चर्चा छ। यो विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि यो सयम उपयुक्त’ रहेको चिनियाँ पक्षलाई बताएको भनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला दिइएको निमन्त्रणामा राष्ट्रपति सिले ‘उपयुक्त समय’मा नेपाल भ्रमण गर्ने बताएका थिए।

नेपाल र चीनबीच वार्ताका क्रममा विशेष रुपले उठेको अर्को विषय हो व्यापार। राष्ट्रपति भण्डारीको चीन भ्रमणका बेला चीन र नेपालबीच चिनियाँ बन्दरगाहाको प्रयोग गर्ने विषयमा सम्झौता भएको थियो। तर, ती बन्दरगाहाबाट नेपाल सडक मार्गबाट निकै टाढा छन्। त्यसैले सोमबारको वार्तामा नेपाली पक्षीले व्यापार वाणिज्यलाई कनेक्टिभिटीसँग पनि जोडेर कुरा गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । व्यापार, कनेक्टिभिटी र पर्यटनका विषयमा नेपाली पक्षले कुरा राखेको थियो।

जवाफमा चिनियाँ पक्षले सक्दो सहयोग गर्ने बचन दिएको छ। चिनियाँ पक्षले नेपालका विकासका लागि सहयोग गर्न सँधै तत्पर रहेको जनाएको छ। दुबै पक्ष यसअघि सम्झौता भएका परियोजना समयमै पूरा गर्न पनि सहमत भएका छन्। नेपालमा चिनियाँ लगानीका परियोजना पूरा गर्ने विषयमा नेपाली पक्षले विशेष महत्वका साथ कुरा गरेको थियो। दुबै पक्ष यो विषयमा सकरात्मक रहेको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ।

वार्ताका क्रममा विशेष रुपमा उठेको अर्को विषय हो –ऊर्जा। नेपालमा चिनियाँ लगानी विभिन्न जलविद्युत आयोजनाहरु निर्माणधीन छन्। ती आयोजनाहरुलाई पनि समयमै पूरा गर्न नेपाली पक्षले कुरा उठाएको थियो।

वार्तापछि दुबै विदेशमन्त्रीको उपस्थितिमा तीन वटा सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मनाङ अस्पतालको स्तरोन्नत्ती र आकस्मिक राहतका लागि ५ हजार थान टेन्ट सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। यस्तै नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनबीच चिनियाँ स्वयम सेवी भाषा शिक्षकका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भ्रमणको दोस्रो दिन चिनियाँ विदेशमन्त्री वाङ विभिन्न भेटमा पनि व्यस्थ रहे। उनले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *