निबन्ध : दशैंको बाल्य-स्मृति
दशैंको बाल्य-स्मृति जीवनको उत्तरार्धमा स्मरणीय सम्झना बनेर आउँदोरहेछ। त्यही सम्झनाको गोरेटोमा धुमिला र घुर्मैला स्मृतिहरू पछ्याउँदै ती दिनतिर फर्किनु आफैँमा रोमाञ्चक अनुभूतिको सुन्दर आलेख तयार हुँदोरहेछ। किनभने आज ती दिन छैनन्। सम्झनाका तरेलीहरू मात्रै बाँकी छन्। सम्झेर ती सुन्दर दिनतिर फर्किनु पनि आनन्दकै प्राप्ति हुँदोरहेछ।
ढिकीमा चिउरा कुट्ने आवाज अझै पनि मेरो कानमा बज्छ। फैलिन्छ चिउराको मीठो सुवास ! फूल, फलफूल र मासुको थाक-थुप्रो घर-घरै। कामको त्यत्तिकै चटारो। खानुको परिकार उत्तिकै।
यी सबै दशैं आउँदैछ भन्ने चेतावनी जस्तै हुन्थे। घरकी आमा र दिदीहरूको व्यस्तता कति हो कति ? किनमेल गर्ने, खानपान तयार पार्ने, सफासुग्घर गर्ने आदि।े हरियो सालको पात टपरी, दुना गाँस्ने कला र त्यसलाई पलपल सजाइरहेको समय सबैले वातावरणलाई पर्वमय बनाइदिन्थ्यो। त्यो दृश्यमा धुलोभन्दा बढी उत्सवको रौनक छरिएको हुन्थ्यो।
गाउँघरको बाटो पनि सफा पारिएको हुन्थ्यो। दाजुभाइ, दिदीबहिनीहरू आँगनमा भेला हुन्थे। सबैको अनुहारमा दशैं नजिकिँदै गरेको उज्यालो झल्किन्थ्यो। घरघरमा पकाएको खानेकुराको मीठो बासना पर–परसम्म फैलिन्थ्यो। दिनभरि नै चुलो बल्थ्यो। सबेरैदेखि ढिकी कुटेको ढिकिच्याँउँको नौलो आवाज गुञ्जिन्थ्यो। अनि नयाँ लुगाको पहिरनमा सजिसजाउ गाउँले खुसीको उत्सवमा सहभागी हुन्थे।
गाउँघर पनि कमेरो र रातोमाटोले सजिएका हुन्थे। पिङ राख्नलाई बाबियोको बलियो लठारो सामूहिक मिलेमतोमा तयार पारिएको हुन्थ्यो। साप्ताहिक हाटबजारमा स्थानीय उत्पादनका खानेकुरा र घरायसी सामानको किनबेचको भीड लाग्थ्यो।
समानता, आत्मीयता र हार्दिकपनको रूपमा बडा दशैंले सबैलाई खुसीको उत्सवमा सामेल गराउँथ्यो। त्यसो त चाडपर्व केटाकेटीलाई मात्रै आएको हुँदैन। तर अलि बढी खुसी र चञ्चल हुने चाहिँ बालबालिका नै हुन्छन्।
बालपनमा दशैं भन्नासाथ पहिलो सम्झना नयाँ लुगा। वर्षभरि पुरानै कपडामा दिन काट्ने हामीलाई दशैंले नयाँ पोशाकको सौगात दिन्थ्यो। त्यो कपडा लाउन पाउँदा आफू संसारकै भाग्यशालीजस्तो लाग्थ्यो। आकाशमा उडिरहेको चंगाजस्तै हृदय पनि नीलो आकाश–गंगामा तैरिँदै फर्फरिन्थ्यो। साथीभाइलाई आफ्नो नयाँ लुगा देखाउँनु र उनीहरूका लुगा हेर्नु खुब मज्जा लाग्थ्यो।
त्यतिबेला मिठो खानेकुरा दशैंमै मात्र पेटभरि पाइन्थ्यो। सेलरोटी, मासु, दही, मिठाई यी सबै स्वाद एकैपटक आ-आफ्ना भागमा राखिँदा हामी बालबालिका कहाँ रोकिएर बस्न सक्थ्यौँ र ! एक हातले खान्थ्यौँ, अर्को हातले अझै माग्थ्यौँ। जति खाए पनि नअघाइने, असन्तोषी बानी।
माग्दा नपाएपछि झगडा गरिहाल्नुपर्ने, रिस देखाइहाल्नुपर्ने। र, आमाबुबा हाँस्दै भन्नुहुन्थ्यो– ‘यो पर्व नै पेटभरि खानलाई तिमीहरूकै लागि हो, धेरै हत्तार नगर बाबुनानी हो !’
हुन त कहिल्यै भोकै, नांगै बस्नु परेन। तर दशैंमा नयाँ लुगा लगाउन पाउनु र मीठो खानपानको स्वाद खाइरहनु निकै ठूलो सन्तोष र खुसीको कुरा हुन्थ्यो। उमेरै त्यस्तो थियो कि जति खाए पनि पेट नअघाउँने ! एकछिनअघि खाएको खानेकुरा कोही पाहुना आउँदा उनीहरूले खाएको देख्नासाथ फेरि भोक लागिहाल्ने।
वास्तवमा दशैं ‘दशा’ थिएन। दशैँ मीठो ‘आशा’ थियो। ‘आराधना’ को ठूलो पर्व थियो। खुसीको उत्सव थियो। भेट र भलाकुसारीको ‘पर्व’ थियो। खाने, खेल्ने रमाउने उत्सवको ‘अवसर’ थियो।
अनि पूजा कोठाबाट निस्किएको धूपको सुगन्ध, देवीदेवताको पूजा, मन्त्र, ठूला मान्छेहरूको हातबाट निधारमा टिका, आशीर्वाद पाउनुको क्षण सुन्दर लाग्थ्यो। यस्तो दिन सधैँभरि रहिरहे हुन्थ्यो जस्तो, सधैँभरि आइरहे हुन्थ्यो जस्तो लाग्थ्यो। त्यो आत्मामा पवित्रता भर्ने घडी हुन्थ्यो।
टिका लगाइसकेपछि हातमा आशिषसँगै पैसाको दक्षिणा पाउँदा खुट्टा भुइँमा टेक्दैनथ्यो। त्यो पैसाले के किन्नु भन्ने योजनामा साथीहरूसँग खेल्दा हामीलाई कुनै चिन्ता थिएन, खुसी मात्र थियो। सानो उमेरको ठूलो सपना थिएन। सानै सपना थिए। तर ती सपना साँँच्चैको आनन्दमय हुन्थे। यसरी आनन्दमा बाँच्न पाउनु नै कति भाग्यमानी र कति ठूलो कुरा थियो।
दशैं बाल्यकालमा पर्व मात्र थिएन, त्यो त जीवनकै एउटा ‘उत्सव’ थियो। जहाँ श्रम र जतन मिसिएर उल्लासमा परिणत हुन्थ्यो। जहाँ आमाबुबाको माया, दाजुदिदीको अपार स्नेहले घर र गाउँभरि जीवनको गीत गाइन्थ्यो। त्यत्तिकै खुसी छचल्किन्थ्यो। उत्तिकै आनन्दले अँगाल्न आउँथ्यो। चञ्चलतासँगै मन चंगासँग आकाशमा पुग्थ्यो। पिङसँग मच्चिएर रमाउनुसम्म रमाउँथ्यो।
बाल्य दिनका यी सुखद दिनहरू अब अहिले कहाँ पाउँनु ? कहाँ भेट्नु ती सुन्दर दिनहरूलाई !
आज समय फेरिएको छ। ढिकीमा चिउरा कुट्ने आवाज हराइसकेको छ। सालको पात टपरीमा गाँस्ने चलन पनि विलीन हुँदै गएको छ। तर त्यो बालपनको दशैं- जहाँ नयाँ लुगा, मिठो खानेकुरा र दक्षिणाको सपनाले हृदय भरिएको क्षण। तथापि यी सबै स्मृतिमा अझै जीवित छन्।
विगत दशैं मेरो जीवनको सुन्दर कविता हो, जसलाई सम्झँदा हरेक वर्ष बाल्यकालको चंगा फेरि आकाशमा उड्न थाल्छ। म त्यही चंगासँगै नीलो आकाश-गंगामा वेग मार्दै प्रकृतिलाई आँखाभरि नियाल्छु। दशैंको बाल्य–स्मृतिमा म त्यहीँ हराउँछु।
















Facebook Comment